काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणलाई नियामक र सेवा प्रदायकका रूपमा विभाजन गर्ने दुई विधेयक संघीय संसदमा पेस गर्न मन्त्रिपरिषद् बैठकले स्वीकृति दिएको छ ।
सूचना तथा सञ्चार प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङका अनुसार ५ पुसमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो ।
योसँगै अब नेपाल हवाई सेवा प्राधिकरण स्थापना र व्यवस्थापन गर्न बनेको विधेयक संघीय संसदमा पेस गर्न स्वीकृति प्राप्त भएको छ ।
यसैगरी नेपाल नागरिक उड्डयनसँग सम्बन्धित कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८१ समेत संघीय संसदमा पेस गर्न स्वीकृति प्राप्त भएको छ ।
प्राधिकरणलाई नियमनकारी र सेवा प्रदायक गरी दुई छुट्टाछुट्टै संस्था बनाउने सम्बन्धमा लामो समयदेखि बहस जारी छ ।
अन्तर्राष्ट्रिय नियामक निकायबाट समेत यस सम्बन्धमा चासो व्यक्त हुने गरेको छ । तर, प्राधिकरण नेतृत्व र अधिकतम कर्मचारी भने यसको विरोधमा रहँदा सरकारले घोषणा अनुसार काम गर्न सकेको छैन ।