जुम्लामा हिमपात, जनजिवन प्रभावित

काठमाडौं । हुम्लामा हिमपात भएको छ । सोमबार दिउँसो मौसम सफा रहे पनि रातिदेखि हिमपात सुरु भएको हो ।

प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले जिल्ला सदरमुकाम सिमकोटमा पनि हिमपात भएको जानकारी दिए ।

सदरमुकामा दुई इञ्चसम्म हिउँ जमेको छ भने उत्तरी नाम्खा गाउँपालिकासहित उच्च भेगमा एक फिटसम्म हिउँ जमेको छ । जिल्लामा हिमपातसँगै चिसो अत्यधिक बढेको छ ।

चिसोका साथै हिमपात हुँदा आवतजावतमा समेत समस्या बनाएको प्रमुख जिल्ला अधिकारी पाण्डेयले बताए । जिल्लाका नाम्खाका लिमी, यारी, हल्जी, तील, हिल्सा चालालगायत गाउँमा हिमपातले जनजीवन प्रभावित बनाएको छ ।

सदरमुकाम सिमकोटको तापक्रम अहिले ‘माइनस डिग्री’मा पुगेको छ । जिल्लाको दक्षिण भेगमा भने वर्षा भइरहेको जनाइएको छ ।

हिमपात हुँदा वृद्धवृद्धा, बालबालिकालगायत सुरक्षित भएर बस्न तथा संभावित हिमपहिरो आउने आसपासका बस्तीमा सुरक्षित रहन प्रमुख जिल्ला अधिकारी पाण्डेयले आग्रह गरेका छन् । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here