काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय एकता र सामाजिक सद्भावमा आँच पुर्याएको आरोप लगाएका छन् ।
पार्टी केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा उनले यस्तो आरोप लगाएका हुन् । ‘आज माओवादी केन्द्र एक वर्षअगाडि आफ्नै प्रदेश सभा सदस्यहरूको समेत सहभागितामा नामाकरण गरिएको ‘कोशी’को विरुद्ध उग्रजातियतावादी समूहहरूसँग मोर्चाबन्दी गरिरहेको छ । ऊ राष्ट्रिय एकता र सामाजिक सद्भावमा आँच पुर्याउन उद्दत देखिएको छ,’ राजनीतिक प्रतिवेदनमा भनिएको छ ।
ओलीले प्रचण्डलाई ‘अस्थिरता, अराजकताका पात्रका रुपमा रहेको उल्लेख गरेका छन् ।
माओवादी नेतृत्वले पूर्वराजावादीहरूसँग बाक्लै बसाउठी गरिरहेको आरोप पनि लगाएका छन् । ‘पूर्व राजावादीहरूसँग बाक्लै उठबस गरिरहेको छ,’ ओलीले प्रतिवेदनमा भनेका छन् ।
त्यस्तै सरकारमा रहँदा आफैंले कारबाही गरेका व्यक्तिहरू र समूहको खुल्ला समर्थनमा लागेको समेत बताएका छन् । आफु ‘प्रधानमन्त्री रहँदा तथा अहिले चीनसँग भएको सम्झौतालाई विवादिन बनाउने अघिव्यक्ति दिएको आरोप उनको छ ।
‘दुई मुख्य राजनीतिक दलहरूबीच नयाँ राजनीतिक सहकार्य प्रारम्भ भएपछि, यो सहकार्य आगामी निर्वाचनसम्म दिगो रहने आधार बलियो बन्दै गएपछि र आगामी निर्वाचन पनि मुख्य राजनीतिक दलहरूले एक्लै लड्ने उद्घोष गरेपछि अस्थिरतामा रमाइरहेका र आफ्नो लगानी एवं हैसियतभन्दा अत्यधिक लाभ लिइरहेका समूहहरूमा बेचैनी उत्पन्न भइरहेको छ,’ उनले प्रतिवेदनमा उल्लेख गरेका छन् ।