अप्पर मस्र्याङ्दी–१ जलविद्युत् आयोजनामा लगानी जुट्यो, क्षमता १०२ मेगावाट

फाइलफोटो

काठमाडौं । १०२ मेगावाट क्षमताको अप्पर मस्र्याङ्दी–१ जलविद्युत् आयोजनाका लागि लक्ष्मी सनराइज बैङ्क लिमिटेडको अगुवाइमा लगानी जुटेको छ ।

उक्त बैङ्कको अगुवाइमा सहवित्तीयकरणमा सहभागी बैङ्कहरू र अप्पर मस्र्याङ्दी हाइड्रोपावर कम्पनीबिच लगानी गर्ने सहमति भएको हो ।

लमजुङ जिल्लास्थित मस्र्याङ्दी नदीमा निर्माण गर्ने १०२ मेगावाट क्षमताको अप्पर मस्र्याङ्दी–१, जलविद्युत् आयोजनाको कुल लागत २१ खर्ब ४० अर्ब रुपियाँ रहेको छ ।

अप्पर मस्र्याङ्दी हाइड्रोपावर–१ ले २०७५ पुस १० गते विद्युत् विकास विभागबाट आयोजना निर्माण तथा विद्युत् उत्पादनको अनुमतिपत्र पाएको थियो ।

यसका साथै २०८१ पुस ९ गते नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिदबिक्रि सम्झौतासमेत गरिसकेको छ । सो कम्पनीको प्रवर्धकका रूपमा केसी ग्रुप र क्याल ग्रुप रहेका छन् ।

परियोजना निर्माणका लागि लक्ष्मी सनराइज बैङ्कको नेतृत्वमा सहवित्तीयकरणमा सहभागी बैङ्कले परियोजना लागतको ७४.७७ प्रतिशत लगानी गर्ने प्रतिबद्धता जनाएका छन् भने बाँकी २५.२३ प्रतिशत रकम सो कम्पनीका प्रवर्धक-संस्थापकको लगानी रहने बताइएको छ ।

लक्ष्मी सनराइज बैङ्कको प्रोजेक्ट फाइनान्स (टर्म लोन) प्रतिबद्धता सात अर्ब रहेको छ भने सहवित्तीयकरणमा सहभागी अन्य बैङ्कमध्ये सहअगुवा ग्लोबल आइएमई बैङ्कको छ अर्ब तथा प्रभु बैङ्कको तीन अर्बसमेत गरी जम्मा लगानी १६ अर्ब रहेको छ ।

आयोजना जुन २०२९ भित्र निर्माण सम्पन्न भई विद्युत् उत्पादन भएपछि वार्षिक करिब ५८३.०३ गिगावाट आवर इनर्जी विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जडान हुने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here