काठमाडौं । राष्ट्रिय तथ्यांक कार्यालयले आर्थिक वर्ष ०८१\८२ को पहिलो त्रैमासका मुलुकको आर्थिक वृद्धिदर ३.४ प्रतिशत रहने प्रक्षेपण गरेको छ । कार्यालयले मंगलबार सार्वजनिक गरेको प्रथम त्रैमासिक कुल गार्हस्थ्य उत्पादन (जीडीपी)प्रतिवेदनले करिब साढे ३ प्रतिशतको आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको हो ।
प्रतिवेदनका अनुसार त्रैमासिक कुल गार्हस्थ उत्पादन आधारभूत मुल्यमा अघिल्लो आर्थिक वर्ष २०८०\८१ को प्रथम त्रैमासिकको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा ३.४ प्रतिशतले वृद्धि हुने प्रारम्भिक अनुमान गरेको हो ।
यो त्रैमासमा सकारात्मक आर्थिक वृद्धि हुनुमा कृषि उत्पादनमा भएको वृद्धि, विद्युत उत्पादन तथा वितरणमा भएको वृद्धि, पर्यटन आगमनमा भएको वृद्धिसँगै होटल क्षेत्रको कुल मुल्य अभिवृद्धिमा भएको वृद्धि प्रमुख कारक रहेको बताइएको छ ।
‘यसका अतिरिक्त यातायात क्षेत्रमा भएको वृद्धि, स्वास्थ्य सेवामा भएको वृद्धि, सार्वजनिक प्रशासनका क्षेत्रमा भएको वृद्धिले समग्र अर्थतन्त्र सकारात्मक वृद्धि तर्फ उन्मुख रहेको हो । खासगरी यस अवधिमा गएको बाढी तथा पहिरोको नकारात्मक प्रभाव र निर्माण क्षेत्रको वृद्धि धनात्मक हुन नसकेका कारणले अर्थतन्त्रको वृद्धि सामान्य रहन गएको अनुमान रहेको छ,’ प्रतिवेदनमा उल्लेख छ ।
तर, आर्थिक वर्ष २०८०\८१ को चौथो त्रैमासको तुलनामा चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ०.२ प्रतिशतले मात्र वृद्धि हुने प्रारम्भिक अनुमान कार्यालयले गरेको छ । यस वर्षको पहिलो त्रैमासमा कुल १८ ओटा औद्योगिक क्षेत्रमध्ये छ ओटामाभएको ऋणात्मक वृद्धिको प्रभाव तथा अन्य क्षेत्रको सामान्य वृद्धिको कारणले समग्र कुल गार्हस्थ्य उत्पादन झिनो अङ्कले मात्र वृद्धि हुने अनुमान गरिएको कार्यालयले प्रस्ट्याएको छ । यद्यपी, सो अवधिमा विद्युत र सूचना तथा सञ्चार क्षेत्रमा भने उल्लेख्य वृद्धि हुने अनुमान गरिएको छ ।