काठमाडौं । साहसिक पर्यटनका लागि प्रख्यात कुश्मास्थित द क्लिफमा अब विश्वकै लामो र अग्लो ‘मेगाट्रोल’ सञ्चालनमा आउने भएको छ । मेगाट्रोल एक साहसिक गतिविधि हो । जसले जिपलाइन र रोलरकोस्टरको ‘ब्लेन्डेड’ अनुभव दिन्छ ।
२ सय ५५ मिटर अग्लो मेगाट्रोलको लम्बाइ १ हजार २ सय २८ मिटर छ । यसमा एक पटकमा तीन जनासम्म खेल्न सकिने कम्पनीले जनाएको छ ।
एक्लै वा जोडीसँगै पनि खेल्न सकिने द क्लिफका अध्यक्ष राजु कार्कीले जानकारी दिए । उनका अनुसार मेगाट्रोलको गति प्रतिघण्टा १ सय ४० किलोमिटरको हुनेछ ।
द क्लिफले विश्वकै दोस्रो अग्लो बन्जी जम्प, स्विङ, स्काई साइक्लिङ लगायत साहसिक पर्यटकीय गतिविधिका साथै सुविधा सम्पन्न रिसोर्ट समेत चलाइरहेको छ ।
अब पर्यटकलाई मेगाट्रोल पनि उपलब्ध गराउन लागिएको अध्यक्ष कार्कीले बताए । एक वर्षअघि निर्माण सुरु गरिएको मेगाट्रोल करिब दुई सातामा सञ्चालनमा ल्याउने गरी काम गरिरहेको उनले जानकारी दिए ।
अहिले यसको परीक्षणको काम जारी छ । उनका अनुसार कालीगण्डकी नदीको मनोरम दृश्य हेर्दै यसको अनुभव लिन सकिन्छ ।