काठमाडौं । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत पश्चिम नवलपरासीको दाउन्नेमा फेरि सवारी साधन आवागमन अवरुद्ध भएको छ ।
मंलबार रातिदेखि अवरुद्ध सडक सोही दिन दिउँसो केही समय एकतर्फी रुपमा सञ्चालन भए पनि गएरातिदेखि फेरि अवरुद्ध भएको हो ।
शीतलहरका कारण सडक चिप्लो भएपछि मंगलबार रातिदेखि सवारी साधन आवागमनमा समस्या भएको छ ।
शीतलहरले कच्ची सडक हिलाम्य भएर दुर्घटनाको जोखिम बढेपछि पूर्णरुपमा सवारी आवागमन अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ । बिहान दुवैतर्फ सवारी साधनको लामो लाइन छ ।
रातभरको जामका कारण यात्रुले सास्ती भोग्न बाध्य भएका छन् । कतिपय यात्रुहरु भने रातभर हिंडेर दाउन्ने खण्ड पार गरेका छन् । ठाउँ-ठाउँमा चिप्लोका कारण सवारी साधन एकआपसमा ठोक्किएका छन् ।
जसले गर्दा पूर्णरूपमा सवारी आवागमन सञ्चालनमा ल्याउन समय लाग्ने प्रहरीले जनाएको छ ।
नारायणगढ-बुटवल सडक विस्तारको क्रममा रहेकाले दाउने खण्डमा सडक विस्तारको काम पनि भइरहेकाले हिलो हुँदा त्यसले थप समस्या बनाएको छ। पटक-पटक दाउन्ने खण्डमा हुने अवरोधले यात्रुले सास्ती भोग्दै आएका छन् ।