काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले आयोजना गर्दै आएको चेम्बर एक्स्पोको नयाँ संस्करण काठमाडौंको भृकुटीमण्डपमा बिहीबारदेखि शुरु हुने भएको छ । आठौं चेम्बर एक्स्पो २०२५ मा अन्तर्राष्ट्रियस्तरको सफ्टवेयर तथा एआई प्रोजेक्ट रहने बताइएको छ ।
एक्स्पो २१ गतेसम्म चल्ने चेम्बरले जनाएको छ । मेलामा स्थानीय उत्पादनहरुको प्रर्वद्धन एवं बजारीकरण तथा व्यापार अभिवृद्धि गर्ने उद्देश्य रहेको चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले जानकारी दिए । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तरगतको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रसंगको सहकार्यमा चेम्बरले अन्तराष्ट्रिय स्तरको व्यापार मेला गर्न लागेको हो ।
नेपाली उत्पादनको बजारीकरणलाई विशेष जोड दिएर व्यवसायिक क्षेत्रहरूलाई एकीकृत गर्ने मुख्य उद्देश्य रहेको अध्यक्ष अग्रवालको भनाई छ । चेम्बरका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले नेपालको सूचना प्रविधि उद्योगहरुलाई अन्तराष्ट्रिय आईटी कम्पनीको व्याकअपका रुपमा विकास गरिनुपर्नेमा जोड दिए ।
व्यापार तथा निकासी प्रर्वद्धन केन्द्रका कार्यकारी प्रमुख शरद विक्रम राणाले देशभित्र खपत हुने सफ्टवेयरहरुको प्रयोग गर्दा आन्तरिक उत्पादन एवं प्रतिस्पर्धाकै आधारमा चयन गरिनुपर्ने बताए ।
एक्स्पोमा कृषिजन्य वस्तु, हस्तकला, लत्ता कपडाका सामान, अटोमोबाइल, इलेक्ट्रोनिक्स, फर्निचर, कपडा, छालाका वस्तु, गहना, कस्मेटिक एवम् खाना र डेरीजन्य उत्पादनहरुको सहभागिता रहने चेम्बरको भनाइ छ ।
एक्स्पोमा नेपाल, बंग्लादेश, भारत, चीन, थाईल्याण्ड, युएई, दक्षिण कोरिया, मलेसिया, पाकिस्तान लगायतका देशहरुमा उत्पादित बस्तुहरुको प्रर्दशनी र व्यवसायीहरुले सहभागिता जनाउने छन् ।
स्वदेशी र विदेशी गरी १ सय २५ भन्दा बढी स्टलहरु एक्स्पोमा राखिनेछन । पाँच दिनसम्म चल्ने एक्स्पो कम्तिमा ५० हजार दर्शकले अवलोकन गर्ने आयोजक नेपाल चेम्बर अफ कमर्सका मेला समिति संयोजक राष्ट्रभुषण चाकुबजीले बताए ।