स्वच्छ ऊर्जा रुपान्तरण सम्मेलन मंगलबार आयोजना हुँदै, आर्थिक विकासमा योगदानको लक्ष्य

काठमाडौं । अन्तर्राष्ट्रिय स्वच्छ ऊर्जा दिवसको अवसरमा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले उत्थानशील एवं न्यून कार्बनमा आधारित अर्थतन्त्रको लागि स्वच्छ ऊर्जा रुपान्तरणसम्बन्धी सम्मेलन आयोजना गर्दैछ ।
मंगलबार राजधानीमा आयोजना हुने सो सम्मेलनले लगानीयोग्य आयोजनाहरुको प्राथमिकीकरण तथा स्वच्छ ऊर्जा रुपान्तरणको लागि लगानीका सम्भावना तथा स्रोत परिचालनका अवसरहरु खोज्नमा सघाउने अपेक्षा गरिएको छ । साथै स्वच्छ ऊर्जाका क्षेत्रगत आवश्यकता, अवसर र चुनौतिहरुको पहिचान गर्दै सम्भाव्य लगानीयोग्य आयोजनाहरु प्रस्तुत गर्ने र लगानी जुटाउने प्रयास पनि सो सम्मेलनमा गरिने केन्द्रले जानकारी दिएको छ ।

नेपालको ऊर्जा रुपान्तरण एवं जलवायु परिवर्तनसँग सम्बन्धित वर्तमान विकास साझेदारी एवं भविष्यको लगानी छनौटको सन्दर्भमा सो क्षेत्रमा भएका सफल आयोजना एवं थालनीका अभ्यासहरुको अनुभव आदानप्रदान पनि सम्मेलनमा हुने केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले जानकारी दिए ।

ऊर्जा मन्त्री दीपक खड्काले उद्घाटन गर्ने सो सम्मेलनले नवीकरणीय ऊर्जा, ऊर्जा दक्षता एवं जलवायु परिवर्तनसँग सम्बन्धित राष्ट्रिय तथा अन्तराष्ट्रिय सरकारी र गैरसरकारी निकाय, प्रदेश सरकार तथा स्थानीय तह, अनुसन्धानमूलक र प्राज्ञिक संस्था, विकास साझेदार, लगानीकर्तालगायत निजी क्षेत्र र नागरिक समाजलाई एकै प्लाटफर्ममा उपस्थित गराउने बताइएको छ ।
विभिन्न १० भन्दा बढी संस्थाहरुको सहयोगमा आयोजना गरिएको सम्मेलनमा नवीकरणीय ऊर्जा, ऊर्जा दक्षता एवं जलवायु परिवर्तनको क्षेत्रमा क्रियाशील राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका ३५० भन्दा बढीको सहभागिता रहने पनि केन्द्रको अनुमान छ ।

सम्मेलनले छलफल गर्ने मुख्य विषयहरुमा ऊर्जा रुपान्तरणको क्षेत्रगत अवस्था, अवसर तथा चुनौति, खुद शून्य उत्सर्जन र उत्थानशील अर्थतन्त्रको लक्ष्य हासिल गर्नका लागि ऊर्जा रुपान्तरण, ऊर्जा रुपान्तरणका लागि लगानी तथा कार्बन वित्तः आन्तरिक र बाह्‍य लगानीको आवश्यकता, नियामक ढाँचा, सुशासन र क्षमता विकास, न्यून कार्बनमा आधारित अर्थतन्त्रलगायत छन् ।
संयुक्त राष्ट्र संघले सन् २०२४ देखि हरेक वर्ष जनवरी २६ तारिखलाई अन्तर्राष्ट्रिय स्वच्छ ऊर्जा दिवसको रुपमा मनाउने घोषणा गरेको हो ।

४० मेगावाट क्षमताका लघु जलविद्युत निर्माण
केन्द्रको स्थापनाकालदेखि आ.व. २०८०।८१ को अन्त्यसम्म ४०,२५३ किलोवाट लघु तथा साना जलविद्युत आयोजनाको निर्माण गरिएको छ भने ११,१०४ सुधारिएको पानीघट्ट र ९९६,६४७ घरेलु सौर्य विद्युत प्रणाली जडान गरिउको छ ।
त्यसैगरी, ४,३३२ संस्थागत सौर्य विद्युत प्रणाली, ३,०९७ किलोवाट पिक सौर्य मिनिग्रीड, सौर्य वायु मिनिग्रीड जडान, १८,२९३ किलोवाट पिक सौर्य रुफटप, २,४६४ सौर्य ड्रायर तथा कुकर जडान, ३,६९१ सौर्य खानेपानी तथा सिंचाइ पम्प, १,३२,२११ फलामे सुधारिएको चुलो, ३३ वटा संस्थागत ग्यासिफायर, ५९,३८५ विद्युतीय चुलो, ४,५०,७७० घरायसी बायोग्यास र १४,२३,२४२ सुधारिएको माटोको चुलो पनि यसैविचमा जडान गरिएको छ ।

यसबाहेक ३६९ संस्थागत, शहरी तथा व्यवसायिक वायोग्यास, १७६६ ऊर्जाको उत्पादनमूलक परिप्रयोग, ३३०९ सौर्य सडक वत्ती र ४७५८ मठ, मन्दिर तथा होमस्टेमा सौर्य ऊर्जा जडान सम्पन्न भएको केन्द्रको भनाइ छ ।

केन्द्रले हालसम्म देशको करीब ३६ लाख ५० हजार घरधुरीमा स्वच्छ तथा नवीकरणीय ऊर्जा प्रविधिको सेवा पु‍¥याएको छ । कूल विद्युत पहुँचमा नवीकरणीय ऊर्जा प्रविधिको हिस्सा करीब ६ प्रतिशत रहेको छ ।
नवीकरणीय ऊर्जाको क्षेत्रमा ५०० भन्दा बढी कम्पनीहरु क्रियाशील रहेका छन् जसबाट प्रत्यक्ष र अप्रत्यक्ष रुपमा ४० हजार भन्दा बढी रोजगारी सिर्जना भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here