काठमाडौं । त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा लिएर सरकारी तथा गैरसरकारी संघसंस्थामा काम गरिरहेका शिक्षकमाथी पनि अनुसन्धान थालेको छ । अध्ययन बिदा लिएर नफर्किने प्राध्यापकको खोजी गर्न गठित समितिले संघ संस्थामा कार्यरत प्राध्यापकमाथि पनि छानबिन गर्न लागेको हो ।
प्राध्यापकहरुले अध्ययन बिदा लिएर संघ संस्थामा काम गरिरहेको उजुरी परेपछि त्रिविले छानबिन गर्न लागेको हो । अध्ययन बिदा लिएर नफर्किने, संघ संस्थामा काम गर्ने प्रध्यापकहरुको खोजी गरेको हो । अध्ययन बिदा लिएर नफर्किने प्राध्यापकबारे बुझ्न समितिले डीन, निर्देशक, क्याम्पस प्रमुखसँग पनि छलफल गर्ने भएको छ । अध्ययन बिदामा विदेशको जुन विश्वविद्यालयमा वा अन्य संस्थामा गएको हो त्यो ठाउँमा पत्राचार त्रिविले गर्ने भएको छ ।
समितिलाई तीन महिनाको समय दिइएको छ । विश्वविद्यालयको नियममा ५ वर्षसम्म अध्ययन बिदामा बस्न पाउने प्रावधान छ । ३ वर्षसम्म अध्ययन बिदा पूरा गरेकाले कम्तीमा ३ वर्ष र सोभन्दा बढी बिदा उपभोग गरेकाले कम्तीमा ५ वर्ष सेवा गर्नुपर्ने व्यवस्था छ ।
यदि नफर्किएमा वा सेवालाई निरन्तरता नदिएमा खाएको तलब १२ प्रतिशत ब्याजसहित फिर्ता गर्नुपर्ने नियम छ । बिदामा बस्दा शिक्षकले नेपाली कागजमा फर्किने कबुलियतनामा गरेको हुन्छ । नफर्किएमा जायजेथाबाट भएपनि खाएको रकम असुल गर्ने भनिएको छ ।
२०४५ सालदेखि अध्ययन बिदामा गएका त्रिविका शिक्षक फर्किएका छैनन् ।
























