काठमाडौं । राष्ट्रिय सभाले प्रतिनिधि सभा सदस्य तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीलाई सुझबुझपूर्ण, वस्तुनिष्ठ र तथ्यपरक भएर आफ्ना विचार सम्प्रेषण गर्न निर्देशन दिएको छ ।
आइतबार राष्ट्रिय सभा बैठकमा राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले सभाको तर्फबाट शाहीलाई सुझबुझपूर्ण, वस्तुनिष्ठ र तथ्यपरक भएर आफ्ना विचार संप्रेषण गर्न निर्देशन दिएका हुन् ।
बैठकमा शाहीले राष्ट्रिय सभाको काम कारबाहीका सन्दर्भमा प्रश्न उठाएका थिए । जसमा सांसदहरुले आपत्ति जनाएका थिए ।
सभाका अध्यक्ष दाहालले विधेयकको सम्बन्धमा यथार्थ अवस्था अध्ययन नै नगरी कपाे कल्पित झुट र यथार्थ भन्दा बाहिर गइ आफ्ना अभिव्यक्ति दिएको बताए ।
‘एक सभाको सदस्यले अर्को सभाको काम कारबाही र सभाका मान्य सदस्यहरुको योग्यता, क्षमता र उमेरको सम्बन्धमा समेत अत्यन्तै गैरजिम्मेवारपूर्ण ढंगले आफ्नो धारणा व्यक्त गर्नुभएको देखिएकाले उक्त अभिव्यक्तिप्रति यो सभा खेद प्रकट गर्दछ’ उनले भने । साथै आइन्दा आफ्ना विचार संप्रेषण गर्दा सुझबुझपूर्ण, वस्तुनिष्ठ र तथ्यपरक हुन मान्य सदस्यलाई यो सभा निर्देशन समेत दिन्छ,’ अध्यक्ष दाहालले भने ।