नेप्सेको सीईओका लागि दरखास्त आह्वान, के-के तोकिए योग्यता ?

काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से)को प्रमुख कार्यकारी अधिकृत पदमा दरखास्त खुलेको छ ।

खुल्ला प्रतिस्पर्धाबाट सीईओ नियुक्ति गर्न गठित सिफारिस समितिले सोमबार सूचना जारी गरी धितोपत्र बजार सञ्चालन नियमावली २०६४ को नियम १६ को क बमोजिम योग्यता पुगेका उम्मेदवारबाट दरखास्त माग गरिएको हो ।

उम्मेदवारहरु अर्थशास्त्र, वाणिज्यशास्त्र, वित्तशास्त्र, व्यवस्थापन, सूचना प्रविधि वा वाणिज्य वा कानुन विषयमा कम्तिमा स्नातकोत्तर वा चार्टर्ड एकाउण्टेन्सी वा सो सरहको उपाधि हासिल गरेको हुनुपर्ने छ ।

साथै पुँजी बजार वा वित्तीय क्षेत्र वा व्यवस्थापन सम्बन्धी कार्यमा कम्तिमा ७ वर्ष उच्च व्यवस्थापकीय तहमा काम गरेको अनुभवसहित कम्तिमा १५ वर्षको कार्य अनुभव भएको हुनुपर्ने छ ।

नेप्सेमा सिइओ राख्न तीन सदस्यीय समिति गठन

योग्यता पुगेका उम्मेदवारहरुले आवेदनसाथ दुईप्रति पासपोर्ट साइजको फोटो र चारप्रति व्यावसायिक कार्ययोजना पेस गर्नुपर्ने छ ।

आवेदन दस्तुर ७ हजार ५०० रुपैयाँ लाग्ने छ । राष्ट्रिय वाणिज्य बैंक सिंहदरबार शाखामा आवेदन दस्तुर बुझाएको सक्कल भौचर आवेदनसाथ संलग्न गर्नुपर्ने छ ।

प्रमुख कार्यकारी अधिकृतले पाउने मासिक पारिश्रमिक, भत्ता तथा अन्य सुविधा नेपाल सरकारको स्वीकृतिमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडले तोकेबमोजिम हुने छ ।

अर्थ मन्त्रालयले नेप्सेको कार्यकारी अधिकृत नियुक्ति गर्ने प्रयोजनार्थ सहसचिव सेवन्तक पोखरेलको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको थियो ।

समितिमा अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साल सदस्य र विज्ञ सदस्यका रुपमा डा. खोमराज खरेल छन् । कृष्णबहादुर कार्कीको कार्यकाल सकिएसँगै माघ २५ गतेदेखि नेप्से सीईओविहीन छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here