रेकर्ड तोड्दै क्वन्टास एयरलाइन्सले रच्यो ‘ननस्टप’ उडानको कीर्तिमान

एजेन्सी । विश्वकै सर्वाधिक लामो यात्रुवाहक उडानले सफल अवतरण गरेको छ । करिब १९ घण्टाको सिधा उडानपछि क्वान्टासको यात्रुवाहक विमान न्यूयोर्कबाट अस्ट्रेलियाको सिड्नीमा आइतबार बिहान अवतरण गरेको हो ।

समाचार एजेन्सीहरुका अनुसार क्वन्टासको ‘क्युएफ ७८७९’ उडान नम्बरको विमान न्यूयोर्कको जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलबाट स्थानीय समयानुसार शनिबार राति ९ बजे ५० यात्रु तथा चालक दलका सदस्य लिएर उडेको थियो ।

विमानलाई न्युयोर्कबाट सिड्नीसम्म १६ हजार २०० किलोमिटर दूरी पार गर्न १९ घण्टा १६ मिनेट समय लागेको थियो । यो विश्वकै सर्वाधिक लामो सिधा उडान रहेको क्वान्टासले जनाएको छ ।

अस्ट्रेलियाको राष्ट्रिय ध्वजाबाहक क्वान्टासले यसअघि लन्डनदेखि सिड्नीको सिधा उडान पनि परीक्षण गरिसकेको छ । क्वान्टासले पछिल्लो समय संयुक्तराज्य अमेरिका र बेलायतबाट सिधा उडान गर्ने महत्वाकाँक्षी योजना अघि सारेको छ ।

न्यूयोर्कबाट सिड्नीको पहिलो उडानमा ४९ जना मात्र यात्रु थिए । यो विमानले तेल पुनः भरण नगरी १६ हजार किलोमिटरभन्दा बढीको यात्रा तय गरेको थियो ।

क्वान्टासका प्रमुख कार्यकारी अधिकृत अलान जोयसले यो उडान हवाई कम्पनी र विश्व हवाई यात्राका दृष्टिले निकै ऐतिहासिक क्षण रहेको बताए । लामो दूरीको यात्रामा जेटल्याग (बिरामीपन) हुने खतरा कम गर्न क्वान्टासले दुई वटा अस्ट्रेलियाली विश्वविद्यालयसँग मिलेर अध्ययन गरिरहेको छ ।

यात्रुहरुले अस्ट्रेलियाली आकाशतर्फ आइपुग्दा आफ्नो घडीमा सिड्नीको समय मिलाएका र खानेकुरा पनि अस्ट्रेलियाली लिएको विमान कम्पनीले जनाएको छ ।

क्वान्टासले गत वर्ष अस्ट्रेलियाको पर्थबाट लन्डनको सिधा उडान शुरु गरेको थियो । यो उडान करिब १७ घण्टाको छ, र विश्वमै लामो दूरीको उडानमध्ये यो एक हो । यति लामो समयसम्म लगातार व्यावसायिक उडान गरेको यो नै पहिलो पटक हो । यसअघि सिंगापुर एयरलाइन्सले १८ घण्टा ५० मिनेटसम्म लगातार उडान गरेको थियो । उक्त एयरलाइन्सले न्युयोर्कबाट सिंगापुरसम्म १५ हजार ३४४ किलोमिटरको यात्रा विश्रामबिना नै पार गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here