काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री बन्द्री पाण्डेविरुद्ध नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले पार्टीमा उजुरी दिएका छन् ।
पार्टीका सहमहामन्त्री समेत रहेका पर्यटनमन्त्री पाण्डेले गैरजिम्मेवार अभिव्यक्ति दिएको भन्दै सांसद बजगाईंले केन्द्रीय अनुशासन समितिमा उजुरी दिएका हुन् ।
मन्त्री पाण्डेले दिएको अभिव्यक्ति पार्टी सिद्धान्तविपरीत तथा नेपालको संविधान र राष्ट्रिय हितविपरीत समेत रहेको भन्दै कारबाहीको माग गर्दै उजुरी दिएका हुन्। पर्यटन मन्त्री पाण्डेले एकदलीय चिनियाँ शासन प्रणालीका राष्ट्रपति सी जिनपिङ को नैतिकतालाई नेपालको बहुदलीय लोकतान्त्रिक प्रणालीका नेताहरू र जनतासमक्ष लैजानुपर्ने धारणा व्यक्त गरेका थिए।
‘नेपाली कांग्रेसको विधानले समाजवादउन्मुख बहुदलीय लोकतन्त्रलाई आत्मसात् गर्छ भने एकदलीय शासन व्यवस्थाको समर्थन कुनै हालतमा हुन सक्दैन,’ बजगाईंले आफ्नो उजुरीमा लेखेका छन् । साथै ‘पार्टीका एक वरिष्ठ नेता एवं मन्त्रीबाट नै साम्यवादी एकदलीय प्रणालीको गुणगान गाउनु पार्टी विधानको गम्भीर उल्लङ्घन भएको भा्दै आपत्ति जनाएका छन् ।