साना तथा मझौला उद्यममा १७ लाखलाई रोजगारी, जीडीपीमा २२ प्रतिशत योगदान

काठमाडौं ४, कात्तिक । मुलुकभर सञ्चालित साना तथा मझौला उद्यम (एसएमई) क्षेत्रले करिब १७ लाखलाई रोजगारी प्रदान गरेको राष्ट्र बैंकको अध्ययनले देखाएको छ । गत साता सार्वजनिक राष्ट्र बैंकको साना तथा मझौला उद्यम सम्बन्धी अध्ययनले उक्त कुरा देखाएको हो ।

नेपालभरी सञ्चालित करिब पौने ३ लाख एसएमईले गत वर्षसम्म करिब १७ लाखलाई रोजगारी दिएको अध्ययनमा उल्लेख छ ।

गत आर्थिक वर्षको अन्त्यसम्म करिब २ लाख ७५ हजार ४ सय ३३ एसएमई सञ्चालनमा छन् । नेपालमा साना तथा मझौला व्यवसायले कुल गार्हस्थ उत्पादन (जीडीपी)को २२ प्रतिशत योगदान गरेको अध्ययनले देखाएको छ ।

प्रतिवेदनका अनुसार नेपालमा एउटा एसएमईले औसतमा १६ जनालाई रोजगारी दिने गरेको छ । यो क्षेत्रको सम्पूर्ण उत्पादन देशभित्रै खपत हुने गरेको अध्ययनले देखाएको छ ।

कुल एसएमईमध्ये करिब आधाले मात्र वित्तीय क्षेत्रबाट ऋण लिएको प्रतिवेदनले देखाएको छ । ‘कुल उद्यमीमध्ये ३३ प्रतिशतले पैतृक सम्पत्तिबाट, २६ प्रतिशतले आफ्नै बचतबाट, १६ प्रतिशतले बैंक तथा वित्तीय संस्थाको कर्जाबाट, ८ प्रतिशतले अनौपचारिक क्षेत्रबाट, ७ प्रतिशतले रेमिट्यान्सबाट, ६ प्रतिशतले सहकारीबाट र ०.५ प्रतिशतले भेञ्चर क्यापिटलबाट सुरुवाती लगानी जुटाउने गरेका छन्,’ प्रतिवेदनमा उल्लेख छ ।

पुँजी बजारबाट हालसम्म यो क्षेत्रले सुरुवाती लगानी जुटाउने गरिएको देखिँदैन । करिब आधा जति एसएमईले मात्र बैंक तथा वित्तीय संस्थाबाट कर्जा कारोबार गरेको पाइएको छ । कर्जा लिने उद्यमीमध्ये पनि करिब ८५ प्रतिशतले वाणिज्य बैंकबाट लिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here