पर्यटन बोर्ड र यूएनडीपीबीच ५० लाख डलरको ‘दिगो पर्यटन परियोजना’ सम्झौता

काठमाडौं । नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम नेपाल (यूएनडीपी–नेपाल) ले संयुक्त रूपमा ‘दिगो पर्यटन परियोजना’ (एसटीपी) नामक नयाँ परियोजना सुरु गर्ने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

पर्यटन बोर्डमा शुक्रबार आयोजित कार्यक्रममा पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी र यूएनडीपी–नेपालकी आवासीय प्रतिनिधि क्योको योकोसुकाले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव विनोदप्रकाश सिंह र यूएनडीपीको एसिया र प्रशान्त क्षेत्रीय निर्देशक क्रिस्टोफ बहुइटको उपस्थितिमा जोशी र योकोसुकाले सम्झौतापत्र आदान–प्रदान गरे ।

स्थानीय समुदायका लागि रोजगारी र जीविकोपार्जनका अवसर सिर्जना गर्ने उद्देश्य सहित पर्यटन सेवा सुविधा सुधार, पर्यटन कार्यबललाई सिपमूलक तालिम र पर्यटन गन्तव्य प्रवर्द्धन गर्न अघि बढाइएको यो परियोजनाको सफलताका लागि सरकार प्रतिबद्ध रहेको मन्त्रालयका सचिव सिंहले बताए ।

कुल ५० लाख अमेरिकी डलर लागत रहेको यो परियोजनामा पर्यटन बोर्ड र यूएनडीपी प्रत्येकले १५ लाख डलर योगदान गर्नेछन् । २० लाख डलर संयुक्त रूपमा परिचालन गरिने छ ।

यस परियोजनाले तीन वर्ष अवधि (२०२५–२०२८) मा २ हजार ५ सय दिगो रोजगारी सिर्जना गर्ने र ५ हजार जनालाई पर्यटन सम्बन्धी सिप अभिवृद्धि गर्ने लक्ष्य लिएको छ ।

प्रमुख पर्यटन स्थलहरूमा साना पर्यटन पूर्वाधार तथा पदमार्ग निर्माण र सुधारका साथै नेपालको पर्यटन डिजिटलाइजेसन प्रवर्द्धन गरी सेवा प्रभावकारिता र पहुँच वृद्धि गरिने परियोजनाको लक्ष्य छ ।

पर्यटन बोर्डका सीईओ जोशीले यस परियोजनाले नेपालमा पर्यटन अनुभवलाई उन्नति गर्ने र स्थानीय समुदायलाई रोजगार तथा उद्यमशीलताका अवसर प्रदान गर्ने बताए ।

यूएनडीपी–नेपालकी आवासीय प्रतिनिधि योकोसुकाले नेपालको पर्यटन क्षेत्रको रूपान्तरणमा यूएनडीपी जोडिन पाउँदा गर्व महसुस गरेको बताइन् ।

परियोजनाले नेपालको १६औं योजना, दिगो विकास लक्ष्य र नेपाल पर्यटन दशक (२०२३–२०३२) ले परिकल्पना गरेको प्राथमिकता ९२०३२ सम्ममा वार्षिक पर्यटक आगमन ३५ लाख पुर्‍याउनु र नेपाललाई विश्वभरिका यात्रुका लागि अझ आकर्षक र दिगो गन्तव्य बनाउनेलाई बल पुर्‍याउने बोर्डले जनाएको छ ।

पर्यटन बोर्ड र यूएनडीपी–नेपालले यसअघि संयुक्त रूपमा सञ्चालन गरेको दिगो पर्यटन मार्फत जीविकोपार्जन पुनरुत्थान परियोजना (एसटीएलआरपी) ले कोभिड–१९ महामारीपछि प्रभावित पर्यटन क्षेत्रलाई पुनरुत्थान गर्न महत्त्वपूर्ण भूमिका खेलेको थियो ।

यो परियोजनाले सगरमाथा र अन्नपूर्ण क्षेत्रमा साना पर्यटन पूर्वाधार निर्माण र सांस्कृतिक सम्पदा पुनर्निर्माण गर्दै १ हजार ६ सय जनालाई रोजगार सिर्जना गरेको थियो ।

यो नयाँ परियोजना एसटीपीले नेपालका प्राकृतिक र सांस्कृतिक सम्पदामा लगानी, पूर्वाधार विकास, कार्यबलको क्षमता अभिवृद्धि र डिजिटल नवप्रवर्तन मार्फत पर्यटक वृद्धि गर्दै नेपालमा रहने अवधि बढाउने र खर्चमा वृद्धि गराउने लक्ष्य लिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here