चालू आवमा नेपालको अर्थतन्त्र ४.५ प्रतिशतले वृद्धि हुने विश्व बैंकको प्रक्षेपण

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ मा नेपालको अर्थतन्त्र ४.५ प्रतिशतले विस्तार हुने अनुमान विश्व बैंकले गरेको छ ।‘नेपाल डेभलपमेन्ट अपडेट’ को अप्रिल अडिसन सार्वजनिक गर्दै विश्व बैंकले यस आवमा आर्थिक वृद्धिदर बढ्ने अनुमान गरेको हो । आर्थिक आघातबीच नेपालको अर्थतन्त्र उत्थानशील रहने समेत विश्व बैंकले बताएको छ।

अघिल्लो आव नेपालको अर्थतन्त्र ३.९ प्रतिशतले विस्तार हुने अनुमान विश्व बैंक थियो । चाल आवमा २०२४ को अन्त्यतिर ठूला प्राकृतिक विपत्तिहरू घटेका बावजुद पनि अर्थतन्त्रले लय समातेको विश्व बैंकले जानकारी दिएको छ ।

विश्व बैंकद्वारा आज सार्वजनिक नेपाल विकास प्रतिवेदन : आर्थिक वृद्धि उकास्नका लागि उत्थानशीलताको लाभ उपयोग तथा सुधार कार्यान्वयन अनुसार, यो वृद्धि मुख्यतः आन्तरिक व्यापार, जलविद्युत् तथा धान उत्पादनको वृद्धिबाट निर्धारित हुनेछ ।

प्रतिवेदनले सन् २०२५/२६ र २०२६/२७ मा नेपालको अर्थतन्त्रले औसत ५.४ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने प्रक्षेपण गरेको छ, जसमा सेवा क्षेत्रको प्रभाव उल्लेख्य रहनेछ ।

आगामी आवसमेत अर्थतन्त्र अझ विस्तार हुने अनुमान छ । यसमा सेवा क्षेत्रको योगदान बढी हुने अनुमान छ । आगामी आव ५.२ प्रतिशत र त्यसपछि ५.५ प्रतिशतले विस्तार हुनेसमेत विश्व बैंकको अनुमान छ ।नेपालले आवश्यक रोजगारी सिर्जना गर्न निजी क्षेत्रले अगुवाइ गरेको आर्थिक वृद्धिलाई बढावा दिनु अत्यावश्यक रहेको प्रतिवेदनले बताइएकाे छ।

बैंकका माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि राष्ट्रिय विभागीय निर्देशक डेभिड सिसलेनले नेपालले आवश्यक रोजगारी सिर्जना गर्न निजी क्षेत्रले अगुवाइ गरेको आर्थिक वृद्धिलाई बढावा दिन आवश्यक रहेको बताए ।

उनले यसलाई हासिल गर्न नेपालले आफ्नै उत्थानशील वृद्धिको प्रभावशाली इतिहासको जगमा संरचनात्मक सुधार गर्न आवश्यक रहेको समेत बताए ।

प्रतिवेदनले नेपालको आर्थिक परिदृष्यमा रहेको सम्भावित जोखिम (अपेक्षित प्रतिफल कम भएर लगानी ह्रास) लाई देखाएको छ ।

यसले नेपालको वित्तीय क्षेत्रको ऋणको गुणस्तरमा थप गिरावट आउन सक्ने सम्भावना साथै सरकारले बारम्बार कर्मचारी सरुवा गर्दा उत्पन्न हुने नीतिगत असंगतिको जोखिम तथा पूँजीगत बजेट कार्यान्वयनमा हुने ढिलाइ सम्बन्धमा पनि उल्लेख गरिएको छ ।

नेपाल डेभलपमेन्ट अपडेटले पछिल्ला आर्थिक विकासबारे महत्त्वपूर्ण अन्तरदृष्टि प्रदान गर्ने राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा. डा. शिवराज अधिकारी बताउँछन् ।

नेपालको १६औं योजनाका लक्ष्य हासिल गर्न आर्थिक वृद्धिलाई थप मजबुत बनाउनुपर्ने भएकाले प्रभावकारी पूँजीगत बजेट कार्यान्वयन एवं चालु परियोजना समयमै सक्नु आवश्यक रहेको समेत उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here