काठमाडौं । नेपाललाई ‘फाइनान्सियल एक्सन टास्क फोर्स’ (एफएटीएफ) को ‘ग्रे लिस्ट’ बाट बाहिर निकाल्न गृहकार्य सुरु भएको छ । सम्पत्ति शुद्धीकरण निवारण निर्देशक समितिको आज बसेको बैठकमा नेपाललाई ग्रे लिस्टबाट बाहिर ल्याउन कार्य योजनालाई अन्तिम रूप दिने र त्यसलाई कार्यान्वयन गर्ने निर्णय भएको छ ।
जिम्मेवार निकाय, क्रियाकलाप र क्रियाकलाप सम्पन्न गर्ने समयसीमा सहित कार्ययोजना कार्यान्वयन गरिने भएको छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाललाई ग्रे लिस्टबाट बाहिर निकाल्न कार्य योजना अनुसार काम गर्दै गर्दा आगामी दिनमा नेपाल ग्रे लिस्टमा नपर्ने गरी दीर्घकालीन हिसाबले काम गर्न आवश्यक रहेको बताए ।
बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले नेपाललाई ग्रे लिस्टबाट बाहिर निकाल्न कानुन अभाव नभएको बताए । उनले इच्छाशक्ति लगाएर काम गर्ने हो भने नेपाललाई ग्रे लिस्टबाट बाहिर निकाल्न सकिने धारणा राखे । महान्यायाधिवक्ता रमेश बडालले सबै निकायमा संस्थागत सुशासन हुन जरुरी रहेको बताए । मुख्यसचिव एकनारायण अर्यालले सबै निकायबीच समन्वय गरी प्राथमिकता साथ काम गर्न आवश्यक भएको बताए ।
उनले प्रविधिलाई जोड दिएर कार्ययोजना अनुसार काम गर्दा नेपाल ग्रे लिस्टबाट बाहिर आउन सक्ने बताए । नेपाल राष्ट्र बैंकका कामु गभर्नर निलम ढुंगाना तिम्सिनाले अन्तिम समयमा काम गर्नेभन्दा कार्ययोजना अनुसार सुरुदेखि नै काम गर्न आवश्यक भएको बताइन् । बैठकमा सहभागीले जोखिम मूल्यांकन, अन्तरनिकाय समन्वय, नियमन तथा सुरपरीवेक्षण, अनुसन्धान तथा अभियोजन, कसुरजन्य सम्पत्ति लगायत क्षेत्रमा काम गर्न आवश्यक रहेको बताउँदै कानुनभन्दा कार्यान्वयनमा जोड दिन आवश्यक भएको बताएका थिए । नेपाल ९ फागुनमा एफएटीएफको ग्रे लिस्टमा परेको थियो ।