अमेरिकाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)अन्तर्गतका परियोजना बन्द गर्ने तयारी गरेका छन्। राष्ट्रपति डोनाल्ड ट्रम्पका प्रमुख सल्लाहकार तथा डिपार्टमेन्ट अफ गभर्नमेन्ट इफिसियन्सी (डोज) प्रमुख इलन मस्कले यस्ताे तयारी गरेका हुन्। एमसिसी परियोजनामालाई चाँडै नै बन्द गरेर सरकारको खर्च कम बनाउने प्रक्रिया शुरु गरेकाे बताइएकाे छ।
बुधबार डोजले एमसिसी परियोजनामा आबद्ध कर्मचारीहरूलाई इमेल पठाएर परियोजना चाँडै बन्द हुने जानकारी गराएको सिएनएनले लेखेकाे छ।
डोजले एमसिसीका कर्मचारीहरूलाई कटौती बारे इमेल गरेको बताइएको छ। उनीहरूलाई स्वेच्छिक अवकासका लागि निवेदन दिन पनि भनिएको सिएनएनले उल्लेख गरेको छ। स्वेच्छिक अवकासमा नजाने कर्मचारीहरूलाई प्रशासनिक बिदामा राखिने बताइएको छ।
परियोजनाले नेपाललगायत २० देशमा विभिन्न काम गर्दै आएको छ। कर्मचारीहरूलाई पठाइएको इमेलमा ९० दिनभित्र एमसिसीका सबै परियोजना बन्द गरिने भनिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन्। डोजले उक्त प्रस्ताव एमसिसीको सञ्चालक समितिमा चाँडै, ढिलामा अर्को साता पेस गर्ने तयारी गरेको छ। समितिमा विदेशमन्त्री मार्को रूबिओ, अर्थमन्त्री स्कट बेसेन्ट र व्यापार प्रतिनिधि र निजी क्षेत्रबाट सदस्य छन्।
एमसिसी परियाेजना अन्तरगत नेपालले अमेरिकी सरकारबाट ५० करोड अमेरिकी डलर अनुदान सहयोग प्राप्त गर्न सक्ने हुन्छ। उक्त अनुदान नेपालको विद्युत प्रसारण लाइन निर्माण र सडक मर्मतमा खर्च गर्ने उल्लेख छ।
एमसिसीबाट प्राप्त हुने ५० करोड डलरमध्ये ३९ करोड ८० लाख डलर विद्युत प्रसारण लाइन निर्माणमा खर्च गर्ने योजना बनाइएकाे थियाे। यस अन्तर्गत ठेक्का प्रक्रिया समेत भएका छन्।


























