निर्णय नमान्ने निजि मेडिकल कलेजको सम्बन्धन खारेज गर्ने स्वास्थ्यमन्त्रीको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले निजी मेडिकल कलेजको सम्बन्धन खारेज गर्ने चेतावनी दिएका छन् ।

आवासीय चिकित्सक र नेपाल चिकित्संघको टोलीसँग आज मन्त्रालयमा भएको छलफलमा मन्त्री पौडेलले यस्ताे चतावनी दिएका हुन्। उनले आवासीय चिकित्सकलाई सरकारी सरह निर्वाह भत्ता दिने भनेर चिकित्सा शिक्षा आयोगले गरेको निर्णय नमान्ने हो भने निजी मेडिकल कलेजको सम्बन्धन खारेज गर्ने चेतावनी दिएका हुन् ।

विभिन्न गुनासोसहित आवासीय चिकित्सक र नेपाल चिकित्सक संघको टोली स्वास्थ्यमन्त्री पौडेलकहाँ पुगेको थियो ।

आयोगका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा २०८१ साल माघ २५ गते बसेको चिकित्सा शिक्षा आयोगको सोह्रौं बैठकले विभिन्न विश्वविद्यालय र अन्तर्गतका सम्बन्धन प्राप्त निजी मेडिकल कलेजहरूका चिकित्सा शिक्षा स्नातकोत्तर तहको कार्यक्रममा अध्ययन गर्ने सम्पूर्ण आवासीय चिकित्सकहरूलाई सार्वजनिक शिक्षण संस्थामा स्नातकोत्तर तहका शैक्षिक कार्यक्रममा अध्ययन गर्ने आवासीय चिकित्सकहरूलाई दिएसरह (स्वास्थ्य सेवाको आठौँ तह) निर्वाह भत्ता उपलब्ध गराउने निर्णय गरेको थियो ।

निर्णय भएको दुई महिना बितिसक्दा पनि कार्यावन्यन नभएको भन्दै आवासीय चिकित्सकहरु सडक आन्दोलन गरिरहेका छन् ।

त्यस्तै केही दिनअघि मन्त्रिपरिषद बैठकले मेडिकल कलेजमा एमबीबीएसको कोटा बढाउने र आवासीय चिकित्सकहरुलाई सरकारी सरह निर्वाह भत्ता उपलब्ध गराउने निर्णय गरेको थियो । तर केही निजी मेडिकल कलेज सञ्चालकले आवासीय चिकित्सकले माफी माग्नुपर्ने भन्दै कलेजमा जान पनि रोकेको बताएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here