काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले विद्युत् उत्पादन बढदै गएकाे तर सोही अनुसार प्रसारण लाइन सञ्जाल बढ्न नसक्दा विद्युत् आपूर्तिं प्रभावित भएको बताएका छन् ।
बिहिबार देशभर लाेडसेडिङ हुँदा सामाजिक सञ्जालमा आलोचना भइरहँदा शुक्रबार प्राधिकरणको स्युचाटार सबस्टेसनमा पत्रकार सम्मेलन गरी प्रसारण लाइन सञ्जाल द्रुत गतिमा बढाउँदै लान नसके हिजो बिहीबार रातिको जस्तो सानो–सानो घटनामा पनि विद्युत् आपूर्ति प्रभावित (ट्रिपिङ) भइरहने बताएका हुन्
कार्यकारी निर्देशक शाक्यले प्रसारण लाइन सञ्जाल तीव्र गतिमा विस्तार गर्दै नलगे साह्रै ठूलो समस्या हुने बताए । साथै प्राधिकरणको पूर्वाधार, उपकरण र नेटवर्कको कमजोरीले विद्युत् आपूर्तिमा समस्या आइरहेको जानकारी दिए।
उनले भने, ‘हिजो राति मैले साढे २ घण्टा कन्ट्रोल रुममा बसेर सबै हेरेँ । अब कसैले पनि चिन्ता लिनुपर्दैन, प्रणालीलाई अझै सुधार गर्दै लान्छौं ।’
उनले माग र सिस्टम बढ्दै जाँदा पूर्वाधार नबढ्दा सीमाभन्दा बढी भएको उनले बताए ।’ प्रसारण लाइनहरूको क्षमताको सीमामा पुगिसकेकोले लाइन ट्रिप हुने गर्छ । यस्तो हुन नदिन पनि हामी आफैंले आपूर्ति बन्द गर्नुपर्ने अवस्था आउने गर्छ ।’
उनका अनुसार स्युचाटार र बालाजु सबस्टेसनमा यस्तै समस्या रहेको छ। ढल्केबरबाट चन्द्रनिगाहपुर हुँदै पथलैया जाने प्रसारण लाइनमा पनि ओभरलोड भइरहेकोले वर्षामा पर्याप्त बिजुली हुँदा पनि त्यस क्षेत्रमा लोडसेडिङ हुने गरेको छ ।
‘सिस्टमले नधानेका कारण विद्युत् आपूर्ति प्रभावित भएको हो,’ कार्यकारी निर्देशक शाक्यले बताए । उनल भने ‘माग र आपूर्तिलाई सन्तुलनमा ल्याउन पनि प्रसारण लाइन पूर्वाधार बढाउँदै जानुपर्छ ।’