काठमाडौं । प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले बलेको बत्ति मुनि बसेर ‘बिजुली गयो’ भन्ने न्यारेटिभ बनाइँदै गरेको आरोप लगाएका छन् । शनिबार सामाजिक सञ्जालमा एक स्ट्याटस राख्दै उनले यस्ताे आरोप लगाएका हुन्।
नेपाल विद्युत प्राधिकरणको प्रबन्ध निर्देशक हितेन्द्र देव शाक्यलाई खुलापत्र लेख्दै बिजुली कसरी आयो थाहा नपाई, बिजुली ल्याइदिने देवता खडा गर्ने समाज भएको समेत भनेकाछन्। ‘आफ्नो काममा तपाईं काबिल हुनुहुन्छ। प्राधिकरणलाई कसरी प्रगतिमा पुर्याउन सकिन्छ भन्नेमा इमान्दार पनि हुनुहुन्छ। तर सजग रहनुहोला, बलेको बत्ति मुनि बसेर पोस्ट लेख्दै ‘बिजुली गयो’ भन्ने न्यारेटिभ बनाइँदै छ’ उनले भनेका छन् ।
यस्ताे छ उनकाे स्ट्याटस
‘बिजुली कसरी आयो थाहा नपाई, बिजुली ल्याइदिने देवता खडा गर्ने समाज हो यो। देवत्वकरणको पर्दा भित्र कस्तो यथार्थ लुकेको छ भन्ने कुरा सामाजिक सञ्जालमा न्यारेटिभ निर्माणमा खटाइएका व्यवसायीलाई थाहा छ, तर उनीहरू समाजमा त्यस विपरीत गहिरो भ्रम छरिरहेका छन् । समाजलाई कामको प्रतिफल दिने होइन, न्यारेटिभको अँध्यारो छायाँ मुनि राखेर आफ्नो दुनो सोझ्याउने गिरोह सक्रिय छ।
अहिले हाम्रो समाजमा सेवा दिनेहरू होइन, कथा बनाउनेहरू चर्चामा छन्। यस्तो बेलामा तपाईंले इमान्दार प्रयास गर्नुभयो भने पनि, त्यो ‘फिड’ मा देखिँदैन—किनकि त्यो ‘फ्रेम’को हिस्सा होइन।
त्यसैले, सजग रहनुस्—काम गर्नुस्, तर ध्यान दिनुस्—कामभन्दा पनि कथा ठूलो भएको युगमा कथा लेख्नेहरू तपाईंको कामभन्दा अघि पुग्न सक्छन्।
कर्ममा अडिग रहनुहोस्, तर ‘कन्टेन्ट’ को दुनियाँले तपाईंलाई ‘कन्टेन्ट’ बनाउने खेलमा लागेको छ भन्ने कुरा नबिर्सिनुहोस्।