वैशाखदेखि ५ लाख भन्दा बढीको शेयर कारोबारमा प्यान अनिवार्य

काठमाडौं ३०, फागुन । आउँदो वैशाखदेखि सेयर बजारमा स्थायी लेखा नम्बर (प्यान) लागु हुने भएको छ । सुरुमा एक पटकमा ५ लाख रुपैयाँ वा सो भन्दा बढीको कारोबारमा प्यान अनिवार्य गरिएको नेपाल धितोपत्र बोर्डले जनाएको छ । बोर्डले बिहीबार विज्ञप्ति जारी गरी उक्त जानकारी दिएको हो ।

एक पटकमा ५ लाख रुपैयाँ भन्दा कमको कारोबार गर्ने लगानीकर्तालाई भने प्यान अनिवार्य नगरिएको बोर्डले जनाएको छ । सरकारले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा र बजेट कार्यान्वयन कार्ययोजनामा दोश्रो बजारमा प्यान लागु गर्ने घोषणा गरेको थियो । सोही व्यवस्थामार्फत आउँदो वैशाखदेखि प्यान लागु गर्न लागिएको हो ।

लगानीकर्ता तथा सम्बद्ध पक्षहरुसँग गरिएको छलफलको सुझाव तथा निश्कर्ष एवं सरकार अर्थ मन्त्रालयबाट प्राप्त उच्चस्तरीय वित्तीय क्षेत्र समन्वय समितिको निर्णय अनुसार प्यान लागु गर्न लागिएको बोर्डको विज्ञप्तिमा उल्लेख छ ।
यो व्यवस्थाले दोस्रो बजार कारोवारमा थप सजिलो र पारदर्शी हुने बोर्डले अपेक्षा गरेको छ ।

लगानीकर्ताहरुले तत्काल प्यान लागु नगर्न माग गरिरहेकै बेला बोर्डले यो नयाँ व्यवस्था लागु गरेको हो । बजार घटिरहेका बेला प्यान लागु गर्दा त्यसको नकारात्मक असर पर्ने भएकाले लगानीकर्ताले हाल यसलाई लागु नगर्न माग गरेका थिए ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here