काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेको छ । शनिबार भर्चुअल रुपमा बसेको पार्टीको केन्द्रीय समितिको आकस्मिक बैठकले राजीनामा माग गरेको हाे। भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकले पदबाट राजीनामा दिएर निष्पक्ष अनुसन्धानलाई सघाउन माग गरेको कार्यबाहक प्रवक्ता मनीष झाले जानकारी गराएका छन् ।
‘विगतमा सांसद रमेश लेखकले नै सदनमा, “प्रश्न उठेपछि राजीनामा दिएर छानबिनमा सघाउनु पर्छ’’ भनेर विभिन्न दृष्टान्त सम्झाउनु भएको कुरा आज उहाँलाई नै स्मरण गराउँदै यथाशीघ्र गृहमन्त्रीको पदबाट राजीनामा दिएर यस विषयमा निष्पक्ष अनुसन्धानलाई सघाउन माग गर्दछौं,’ झाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
त्यस्तै मन्त्री र उनका सचिवालय नै ‘भिजिट भिसा’ मार्फत् मानव तस्करीमा संलग्न रहेको कुरा सार्वजनिक भएकोमा पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताइएकाे छ ।

























