काठमाडौं । नेपाल राष्ट्र बैंक्ले आज बुधबार पनि राष्ट्र बैंकले बजारबाट ८० अर्ब रुपैया“ झिक्न लागेको छ । बैंक तथा वित्तीय संस्थामा ऋण दिन मिल्ने रकम धेरै थुप्रिएपछि त्यसको व्यवस्थापनका लागि भन्दै राष्ट्र बैंकले उक्त रकम झिक्न लागेको हो ।
तरलता व्यवस्थापनका लागि निक्षेप संकलन उपकरणमार्फत राष्ट्र बैंकले २१ दिनका लागि उक्त रकम झिक्न लागेको हो । अन्तर बैंक ब्याज दर तीन प्रतिशतभन्दा तल झरेपछि फेरि बजारबाट पैसा झिक्न लागिएको राष्ट्र बैंकले जनाएको छ । विगत लामो समयदेखि निक्षेप बढिरहेको बेला कर्जा माग बढ्न नसक्दा बैंक तथा वित्तीय संस्थामा तरलता (ऋण दिन मिल्ने रकम) थुप्रिएको हो ।
हालको व्यवस्थाअनुसार अन्तर बैंक ब्याजदर तीन प्रतिशतभन्दा तल रहेको अवस्थामा राष्ट्र बैंकले बजारबाट पैसा झिक्नुपर्छ भने ६.५ प्रतिशतभन्दा बढी भएपछि बजारमा पैसा पठाउनुपर्छ । अहिले तीन प्रतिशतभन्दा तल झरेकाले फेरि बजारबाट पैसा झिक्न लागेको हो ।
निक्षेप संकलन खरिदका लागि आज दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल गर्न राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई आह्वान गरेको छ । घटीमा १० करोड र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा निशेष भाग जाने गरी बोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।





















