काठमाडौं । मुलुकमा हाल ४५ वटा सार्वजनिक संस्थान सञ्चालनमा भएकोमा १६ वटा घाटामा छन्। त्यस्तै २ वटा हाल बन्द अवस्थामा रहेका छन् । तिमध्य २० वटा पूर्णसरकारी स्वामित्वका छन् भने २५ वटामा अधिकांश स्वामित्व सरकारको छ । गत आर्थिक वर्ष २०८०/८१ मा संस्थानको कुल सञ्चालन आय ६ खर्ब ६० अर्ब १५ करोड पुगेको छ, जुन अघिल्लो आव २०७९/८० को तुलनामा ०.२२ प्रतिशतले कम हो ।
कुल गार्हस्थ उत्पादन (जीडीपी) मा सञ्चालन आयको अनुपात ११.५७ प्रतिशत रहेको छ । आव २०८०/८१ मा सार्वजनिक संस्थानको खुदनाफा गत समीक्षा अवधिको तुलनामा १२.८८ प्रतिशतले कम हो । साे अवधिमा खुदनाफा ४२ अर्ब ६२ करोड पुगेको छ।
नोक्सानीमा रहेका संस्थानको खुद नोक्सानी ३ अर्ब ६३ करोड रुपैयाँ रहेको छ । यता नाफामा रहेका संस्थानहरूको खुद नाफा गत आवको तुलनामा ११.५० प्रतिशतले घटेको छ । नोक्सानीमा रहेका संस्थानहरूको खुद नोक्सानी गत वर्षको तुलनामा ८.६५ प्रतिशतले बढेको छ ।






















