काठमाडौं । काठमाडौं उपत्यकामा नेपाल प्रहरीले बस सञ्चालन गरेको छ । यातायात व्यवसायीहरूले सवारी साधन बन्द गरेपछि सर्बसाधारणले सास्ती भाेग्नुपरेकाे भन्दै प्रहरीले बस सञ्चालनमा ल्याएको हो ।
यात्रुलाई गन्तव्यमा पुर्याउन दुई वटा बस सञ्चालन गर्न लागिएको प्रहरी प्रधान कार्यालयका प्रवक्ता एसएसपी रमेश थापाले जानकारी दिए ।
आज यातायात व्यवसायीहरुले गण्डकी प्रदेश सरकारले ल्याएको राइड सेयरिङसम्बन्धी नियमावलीको विरोध गर्दै सार्वजनिक यातायात बन्द गराएका छन् । सार्वजनिक सवारी बन्द हुँदा राइड सेयरिङ सेवा शुल्क समेत बढाइएको छ ।
नेपाल प्रहरीले चलाएको उक्त बसमा यात्रा गर्दा भाडा तिर्नुपर्दैन।
पहिलो रूटअनुसार नक्साल, बालुवाटार, टिचिङ, चक्रपथ, नयाँ बसपार्क, बालाजु, स्वयम्भू, कलंकी, बल्खु, सातदोबाटो, लगनखेल, जावलाखेल, थापाथली, माइतीघर, पुतलीसडक, जयनेपाल हल र पुन: नक्साल घुम्नेछ।
त्यस्तै, अर्को रूटमा नक्साल, रातोपुल, चाबहिल, गौशाला, एयरपोर्ट, कोटेश्वर, ठिमी, सल्लाघारी, सूर्यविनायकबाट फर्केर आउने र चाबहिल, सुकेधारा, चक्रपथ, टिचिङ, बालुवाटार हुँदै नक्साल जाने प्रहरीले जानकारी दिएकमे छ।




















