काठमाडौं । क्रिस्टियानो रोनाल्डोले राष्ट्रिय टोलीको प्रशिक्षण क्याम्प अचानक छाड्नुको कारण खुलाएका छन्। उनले मंगलबार सार्वजनिक गरेको वक्तव्य मार्फत प्रशिक्षक जोर्गे जेसुससँगको विवादका कारण क्याम्प छाेडेकाे खुलासा गरेका हुन्।
साथै उनले आफू राष्ट्रिय टोलीबाट टाढिने निर्णय नगरेको र आगामी खेलमा पनि पोर्चुगलका लागि उपलब्ध रहने बताएका छन्।
वक्तव्यमा रोनाल्डोले नर्वे र डेनमार्कविरुद्धका दुवै खेलमा आफूलाई आराम दिने विषयमा जेसुससँग सहमति भएको तर नर्वेविरुद्धको खेलको दिन बिहान आफूलाई करिब ३० मिनेट खेलाउने जानकारी दिइएको बताए।
तर दोस्रो हाफदेखि वार्मअप गरेपनि मैदानमा नपठाएको उनले दावि गरे । रोनाल्डोले भने ‘ प्रशिक्षकले आफूसँग गरेको वाचा दोस्रोपटक तोडे
यो दोस्रोपटक थियो। थप वाचा तोडिने प्रतीक्षा नगरी प्रशिक्षण क्याम्प छाड्ने निर्णय गरेँ,’।
रोनाल्डोले आफ्नो व्यवहारका कारण पोर्चुगलका समर्थक र टोलीका सहकर्मीसँग माफी पनि मागेका छन्। पोर्चुगिज फुटबल महासंघले आफूलाई कुनै कारबाही गरे त्यसलाई स्वीकार गर्ने उनले बताएका छन्।
उनले भनेका छन् ‘म राष्ट्रिय टोलीका लागि सधैँ उपलब्ध रहनेछु। जब म राष्ट्रिय टोलीबारे सोच्दछु, मेरो सोच प्रतिस्पर्धा गर्ने र जित्नेमा हुन्छ,’।
