उकालो लाग्यो मूल्यवृद्धि: मसला र फलफूलमा उच्च

काठमाडौं ७ कात्तिक । पछिल्ला केही वर्ष न्यून रहेको मूल्यवृद्धि उकालो लागेको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङक अनुसार चालु आर्थिक वर्षको पहिलो दुई महिनामा मूल्यवृद्धि दर ६ दशमलव १६ प्रतिशत पुगेको छ ।

सबैभन्दा बढि मूल्यवृद्धि मसला र फलफूलमा बढेको तथ्याङमा देखाईएको छ । अघिल्लो वर्ष मूल्यवृद्धि ३ दशमलव ८६ प्रतिशत रहेको थियो ।

सबैभन्दा धेरै मसलाको मूल्य १४ दशमलव ४८ प्रतिशतले बढेको छ । त्यस्तै फलफूल १२ दशमलव ९७ प्रतिशत र तरकारीको मूल्य १० दशमलव ९ प्रतिशतले बढेको छ ।

मदिराको मूल्य ८ दशमलव ९४ र माछामासुको मूल्य ८ दशमलव ६ प्रतिशतले बढेको छ । लत्ताकपडा र जुत्ताको मूल्य ६ दशमलव ८८ तथा घरभाडा ६ दशमलव ७९ प्रतिशतले बढेको छ ।

तथ्याङक अनुसार, सबैभन्दा धेरै काठमाडौं उपत्यकामा ७ दशमलव ९ प्रतिशतले मूल्य बढेको छ । तराईमा मूल्यवृद्धि दर ५ दशमलव ६९, पहाडमा ५ दशमलव ०९ र हिमालमा ५ दशमलव ०२ प्रतिशत छ ।

२०७५ भदौमा यी क्षेत्रमा क्रमशः २.९८ प्रतिशत, ३.६८ प्रतिशत, ५.० प्रतिशत र ३.३५ प्रतिशत रहेको थियो ।

रेमिटेन्स घट्यो

चालु आर्थिक वर्षको पहिलो २ महिनामा रेमिट्यान्स घटेको छ । राष्ट्र बैंकले रेमिट्यान्स आयात पोहोरको २ महिनाको तुलनामा ० दशमलव ३ प्रतिशतले घटेर १ खर्ब ५३ अर्ब ७३ करोडमा झरेको जनाएको छ । भदौसम्ममा रेमिटेन्स १ खर्ब ५३ अर्ब ७३ करोड मात्र भित्रिएको नेपाल राष्ट्र बैंकलेको तथ्याङक छ ।

गत वर्षको यही अवधिमा रेमिटेन्स ३३ दशमलव ४ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा रेमिटेन्स १ दशमलव ३ प्रतिशतले घटेको छ ।

यो अवधिमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या ० दशमलव २ प्रतिशतले बढेको छ । जुन गत वर्षको यही अवधिमा ३९ प्रतिशतले घटेको थियो ।

त्यस्तै, पुन श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जानेको संख्या १० दशमलव ३ प्रतिशतले बढेको छ । यसले वैदेशिक रोजगारीमा जानेको संख्या बढिरहे पनि रेमिटेन्स आप्रवाह भने घटिरहेको देखाएको छ ।

तथ्यांकका अनुसार, भदौसम्म देशको शोधनान्तर स्थिति (देश भित्रिने र बाहिरिने रकम बीचको अन्तर) रु. ८ अर्ब ८३ करोडले बचतमा छ । यो अघिल्लो वर्षको यही अवधिमा २५ अर्ब ४५ करोडले घाटामा थियो ।

२ महिनामा पुनः श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या पोहोरको सुरुका २ महनिामा भन्दा १०.३ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ९.८ प्रतिशतले घटेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here