काठमाडौं । पूर्वभौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले यातायात व्यवसायीहरुसँगको सहमती आपत्तिजनक भएको बताएका छन् । उनले सोमबार मध्यरात भएको सहमतिमा यातायात व्यवसायीहरुसँग झुकेर सरकार सिन्डिकेटलाई संरक्षण गरेको आरोप लगाएका छन् ।
मंगलबार बसेको पूर्वाधार विकास समितिको बैठकमा ज्वालाले पहिले तोडिएको सिन्डिकेट फेरि कायम गर्ने सम्झौता भएको बताएका हुन् । ‘सरकारले जनताको होइन निश्चित वर्गको फाइदाका निम्ति मात्रै काम गरेको छ’उनले भने ।
गण्डकी प्रदेश सरकारले राइडसेयरिङ र सेल्फ ड्राइभलाई मान्यता दिने गरी नियमावली ल्याएको विरोधमा सोमबार देशभर चक्काजामसहित आन्दोलन गरिएको थियो । यातायात व्यवसायीका प्रतिनिधि र सरकारी वार्ता टोलीबीच सोमबार भएको वार्तामा नियमावली स्थगनको प्रक्रिया अघि बढाउने सहमति भएको थियो ।‘यातायात व्यवसायीले आन्दोलन गरेपछि सिन्डिकेट लगाउने । तोड्नेतिर पनि जाने होला,’ उनले भने, ‘अब जनताले आन्दोलन गरे के हुन्छ त ? पब्लिकलाई त यसले निकै ठूलो समस्या पार्छ नि ।’






















