विदेशी विनिमय सञ्चिति १० खर्ब ७८ अर्ब, ८ महिनाको आयात धान्न पुग्ने

काठमाडौं ७, कात्तिक । पछिल्ला महिनामा मुलुकको विदेशी विनिमय सञ्चितिमा सुधार देखिएको छ ।

सोही क्रममा गत भदौमा कुल विदेशी विनिमय सञ्चिति १० खर्ब ७८ अर्ब ९४ करोड पुगेको छ । गत असारमा यस्तो सञ्चिति १० खर्ब ३८ अर्ब ९२ करोड थियो ।

घट्दो आयात, बढ्दो विदेशी ऋण, लगायत कारण विदेशी विनिमय सञ्चितिमा सुधार भएको हो ।

यो वर्षको पहिलो दुई महिनाको सञ्चितिले मुलुकलाई चाहिने ८.४ महिनालाई आवश्यक वस्तु तथा सेवा आयात धान्न पुग्ने राष्ट्र बैंकले जनाएको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये राष्ट्र बैंकमा रहेको सञ्चिति ९ खर्ब ३२ अर्ब ६० करोड रुपैयाँ छ । गत असार मसान्तमा यो ९ खर्ब २ अर्ब ४४ करोड थियो ।

भदौ मसान्तमा बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति १ खर्ब ४३ अर्ब ३३ करोड पुगेको छ । गत असारमा यो १ खर्ब ३६ अर्ब ४७ करोड रुपैयाँ थियो । गत भदौ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २३.८ प्रतिशत छ ।

‘आर्थिक वर्ष २०७६- ७७ को दुई महिनासम्मको आयातलाई आधार मान्दा बैकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले ९.६ महिनाको वस्तु आयात र ८.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ,’ प्रतिवेदनमा उल्लेख छ ।

समीक्षा अवधिमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगको अनुपात क्रमशः ३१.१ प्रतिशत, ६९.६ प्रतिशत र ३०.२ प्रतिशत छन् । २०७६ असार मसान्तमा यी अनुपात क्रमशः ३०.० प्रतिशत, ६४.९ प्रतिशत र २९.० प्रतिशत रहेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here