काठमाडौं । काठमाडौं महानगरपालिकाका पूर्वप्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सामाखुसी करिडोर अन्तर्गतको ढल निर्माण कार्यको ठेक्कामा अनियमितता भएको भन्दै उनिहरुविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
परियार हाल सूचना तथा प्रशारण विभागको महानिर्देशक छन् ।
मुद्दा दायर हुनेहरूमा बोलपत्र मूल्यांकन समितिका पदाधिकारीहरू रवीनमान श्रेष्ठ, शिवराज अधिकारी, बसन्त आचार्य, नमराज ढकाल, जनार्दन गिरी र उत्तम दाहाल रहेका छन् ।
समानान्तर निर्माण सेवा प्रालिले उक्त ठेक्का प्रक्रियामा १८ करोड ९ लाख २२ हजार ३ सय २५ रुपैयाँ ६३ पैसा कबोल गरेको थियो ।त्यस्तै कल्पवृक्ष कोहिनूर जेभीले २२ करोड ४० लाख ९४ हजार ६ सय १२ रुपैयाँ ९५ पैसा कबोल गरेको थियो ।
कम कबोल गरेको समानान्तर निर्माण सेवा प्रालिलाई उक्त ठेक्का नदिइ कल्पवृक्षलाई दिएको भन्दै उजुरी परेको थियो ।उक्त प्रक्रियामा चार करोड ३१ लाख ७२ हजार २ सय ३७ रुपैयाँ ३२ पैसा दुरुपयोग गरेको भन्दै अख्तियारले मुद्दा दायर गरेको हो ।

























