लाङटाङ क्षेत्रमा बढ्न थाले पर्यटक

काठमाडौं, ७ कात्तिक । लाङटाङ, गोसाइँकुण्ड र तामाङ सम्पदा पदमार्गमा भ्रमण गर्ने पर्यटकको सङ्ख्या बढ्न थालेको छ ।

लाङटाङ राष्ट्रिय निकुञ्जका वन प्राविधिक रमेश बस्नेतका अनुसार चालू वर्षा ऋतुको दुई महीनामा पर्यटकहरू न्यून सङ्ख्यामा आएपनि शरद ऋतुमा भने वर्षाको कमी हुनाका साथै र कुहिरो हटेर अग्ला हिमालका सौन्दर्य अवलोकनका लागि पदयात्रा गर्न आन्तरिक एवं वाह्य पर्यटकको आगमन बढ्दै गएको हो ।

गत साउन, भदौ र असोज महीनामा छ हजार ६०० आन्तरिक र दुई हजार ५१४ विदेशी पर्यटक निकुञ्जभित्र प्रवेश गरिसकेका छन् ।

तीमध्ये ४३ जना सार्क राष्ट्रका भएको निकुञ्जका प्राविधिक बस्नेतले बताए । हिमाली दृश्य अवलोकनका लागि आउने आन्तरिक एवं वाह्य पर्यटकले पवित्र तीर्थ गोसाइँकुण्ड, लाङटाङ क्षेत्र, तामाङ सम्पदा पदमार्गअन्तर्गत गतलाङ, नाकथलीलगायत क्षेत्रको भ्रमण गर्ने गरेको यहाँका पर्यटन व्यवसायीले जनाएका छन् ।

आन्तरिक पर्यटकका लागि प्रतिव्यक्ति रू १००, सार्क मुलुकका लागि रू एक हजार ५०० र अन्य वाह्य मुलुकका पर्यटकका लागि तीन हजार प्रवेश शुल्क तोकिएको र तीर्थका लागि गोसाइँकुण्डको विशेष मेला अवधिभर नेपाली यात्रुका लागि मात्र शुल्क नलाग्ने व्यवस्था मिलाइएको निकुञ्जले जनाएको छ ।

विगत तीन महिनामा पर्यटक शुल्कबाट सङ्कलित रू ८१ लाख ३७ हजार ५०० राजश्व दाखिला भइसकेको बताइएको छ ।

राजधानी काठमाडौँदेखि छोटो दूरी र प्राकृतिक स्थलको जिल्ला भएकाले यहाँ भ्रमणमा आएका पर्यटकले सात दिनमा पूरै गन्तव्यस्थल घुमिसक्ने, अर्कोतर्फ उच्च भागका चन्दनवारी, लौरीविनायक, गोसाइँकुण्डमा र लाङटाङ क्याङजेन, नाकथलीसमेतका स्थानमा खानेबस्ने राम्रो सुविधा भएको लाङटाङका पर्यटन व्यवसायी तेम्वा लामा बताउछन् ।

हिजोआज जमीनमा कुहिरो नउठ्ने, हिमाल दिनभर खुल्ला हुने र अग्लो स्थानमा सेताम्बे हिउँ समथर र हरियाली पाखा, विभिन्न प्रजातिका चरा उडिरहने अस्मिज बाँदरलगायत अन्य जनावर हेर्न पाइन्छ ।

यात्रा गर्दा थकाइ र भोक लागेमा ठाउँठाउँमा खान र बस्न होटल पाइने, धुन्चेतर्फ र काठमाडौँको सुन्दरीजलदेखि हेलम्बु हुँदै दुवै तर्फबाट गोसाइँकुण्ड पुग्न सकिने भएका कारण रसुवाको हिमाली पदयात्रा रोमञ्चकारी बन्दै गएको पर्टकहरूले बताएका छन् ।

सुन्दरीजलदेखि गोसाइँकुण्ड यात्रा गर्ने पर्यटकले लौरीविनायक, चोलाङपाटी, ठूलोस्याफ्रु, लामा होटल हुँदै लाङटाङ, शेर्पा गाउँ वृद्धिम, थुमन, नाकथली, गतलाङ पर्वतीकुण्ड, गोल्जुङ, स्याफ्रुबेँसी पुगेर बसबाट काठमाडौँ फर्कन सक्ने छन् ।(रासस)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here