काठमाडौं । नेपाल पर्यटन बोर्डले मुलुकको पर्यटन क्षेत्रमा देखिएका समस्या र चुनौतीबारे प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिलाई जानकारी गराएको छ ।
सिंहदरबारस्थित समितिको सभाहलमा बुधबार भएको बैठका बोर्डका प्रमुख
कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले नेपालको पर्यटनको वर्तमान अवस्था,वार्षिक प्रगती, भावी रणनीति, समस्या र चुनौतीबारे ब्रिफिङ गरेका छन् ।
बोर्डका सीईओ जोशीले भने, ‘हालको आर्थिक वर्ष २०८१/८२ मा ९३.३५ करोड रुपैयाँ आम्दानी भएको छ । आर्थिक वर्ष २०८२/८३ का लागि १३२ करोड रुपैयाँ आम्दानी गर्ने लक्ष्य हामीले राखेका छौं ।’
पर्यटन प्रवर्द्धनका लागि नेपाल पर्यटन बोर्डले अमेरिका, युरोप, चीन, भारत, बङ्गलादेश, दक्षिण–पूर्व एशिया, र मध्यपूर्वका विभिन्न सहरहरूमा गरी २५ अन्तर्राष्ट्रिय पर्यटन मेलामा सहभागिता जनाएको सीईओ जोशीले जानकारी गराएका हुन् । ती मेलामा सहभागी ३३३ भन्दा बढी नेपाली पर्यटन व्यवसायी कम्पनीहरूले नेपालको पर्यटन उत्पादन र सेवाहरूलाई प्रवर्द्धन गरेका थिए ।
विदेशस्थित नेपाली दूतावासहरूसँग सहकार्य गर्दै १५ वटा गन्तव्य प्रवर्द्धन
कार्यक्रमहरू सञ्चालन गरेको र यसले नेपालको दिगो पर्यटन विकासमा कूटनीतिक नियोगहरूको भूमिका थप प्रभावकारी बनाएको सीईओ जोशीले जानकारी गराएका हुन् । बोर्डले ‘४५ गन्तव्य स्तरीकरण कार्यक्रम’ सँगै, होमस्टे व्यवस्थापन, होटल व्यवस्थापन, ट्रेकिङ, र्याफ्टिङ, प्रकृति गाइड तालिम, भाषा तालिम, प्याकेज निर्माण र डिजिटल मार्केटिङसम्बन्धी तालिमहरू सञ्चालन गरेको जनाइएको छ ।
यससँगै पर्यटन जनशक्ति विकासमा समेत ध्यान दिइएको सीईओ जोशीले बताए । नेपालमा आयोजना गरिएका ४० स्थानीय कार्यक्रमहरू, जस्तै सांस्कृतिक पर्व,परिकार महोत्सव, साहसिक पर्यटन उत्सवहरूले आन्तरिक पर्यटन प्रवर्द्धनमा योगदान पुर्याएको पनि सीईओ जोशीले जानकारी गराएका हुन् । साथै,कुम्भमेलाका अवसरमा भारतीय पर्यटक लक्षित विशेष प्रचार अभियानहरू सञ्चालन गरिएको थियो । सीईओ जोशीले नेपालको पर्यटन विकासमा केही संरचनागत र प्रणालीगत चुनौतीहरू कायमै रहेकोसमेत जानकारी गराएका हुन् । उनले भने, ‘आधारभूत पूर्वाधारको
अभाव, स्पष्ट रणनीति नभएको गन्तव्य प्रवर्द्धन, दक्ष जनशक्तिको अभाव,स्वास्थ्य तथा सुरक्षाको चासो, मौसममा आधारित पर्यटन प्रवृत्ति, संस्थागत दिगोपनाको कमजोरी, नीति–निर्माणमा अस्थिरता, र गुणस्तरीय उत्पादनको अभाव आदि प्रमुख चुनौतीहरू हुन्।’
साथै, अन्तर्राष्ट्रिय स्तरमा उदीयमान प्रतियोगिता र पर्यटकको बदलिँदो
मनोविज्ञानको प्रभाव पनि नेपालले ध्यानपूर्वक अवलम्बन गर्नुपर्ने विषय भएको बोर्डका सीईओ जोशीले बताए । पर्यटन बोर्डले नयाँ दृष्टिकोण प्रस्तुत गर्दै नेपाललाई ‘विश्वकै सबैभन्दा अनुभवमूलक र जीवनभर सम्झनलायक गन्तव्य’को रूपमा स्थापित गर्ने योजना अघि सारेको छ ।
बोर्डले एसियाली बजारमा माग वृद्धि र परम्परागत बजारको संरक्षण, डिजिटल क्षमतामा वृद्धि, गुणस्तरीय लगानी प्रोत्साहन र गन्तव्य विविधीकरण, पर्यटन उत्पादनको सुधार र नियामकीय सुधार,
श्रम, सीप र प्रादेशिक सहभागिता विस्तार, उद्योगको लचिलोपन, उत्पादकत्व र गुणस्तर अभिवृद्धि, वातावरणीय उत्तरदायित्व र दिगोपनाको सुनिश्चितता र प्रदेशहरूको पर्यटन सम्भावना उजागर गर्ने रणनीतिक आधारस्तम्भ अवलम्बन गरेको सीईओ जोशीले जानकारी गराएका हुन् ।
‘पर्यटन सडक पूर्वाधार आयोजना’ अन्तर्गत काठमाडौं–पोखरा, नारायणघाट–बुटवल, धुलिखेल–रामेछाप, रसुवा–केरुङ, बुटवल–पाल्पा–पोखरा आदि मार्गहरूमा सुधार गर्नुपर्ने सीईओ जोशीले बताए । हवाइ सेवा सुधारमा सिधा अन्तर्राष्ट्रिय उडान, हेलिकप्टर सञ्चालन सहजता, गौतमबुद्ध तथा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको अधिकतम प्रयोग, र हवाइ खेलकुद प्रवर्द्धनको लक्ष्य बोर्डले लिएको छ ।
पर्यटन बोर्डको दीर्घकालीन योजनाअनुसार आगामी वर्षहरूमा नेपालमा वार्षिक २५ लाख अन्तर्राष्ट्रिय पर्यटक भित्र्याउने, १४ लाख रोजगारी सिर्जना गर्ने र २.५ खर्ब रुपैयाँको पर्यटन आम्दानी प्राप्त गर्ने लक्ष्य बोर्डले राखेको छ।
समितिमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री पाण्डेले पर्यटन
बोर्डले गरिरहेका गतिविधिहरुको प्रशंसा गर्दै मन्त्रालय नीतिगत र संरचनागत सुधारका काममा लागिरहेको बताएका हुन् । नेपालको पर्यटनमा लगानी बढाउनका लागि निजी क्षेत्रलाई विश्वासमा लिनुपर्ने उल्लेख गर्दै मन्त्री पाण्डेले भने, “पर्यटन बोर्डका माध्यमबाट निजी क्षेत्रलाई सहजीकरण गर्ने काममा लागिरहेका छौं । उहाँहरु पनि बोर्डको सहजीकरणबाट विश्वस्त र उत्साहित हुनुहुन्छ । पर्यटन बोर्ड थिंक ट्यांक पनि हो । त्यसकारण बोर्ड थप रणनीतिक तवरमा अघि बढ्नेछ भन्नेमा विश्वस्त छु । त्यसैगरी समितिका सदस्यहरु एनपी साउद, उदय शमशेर जबरा, धवल शमशेर राणा,प्रेम सुवाल, भिम आचार्य, शिशिर खनाललगायतले नेपालको पर्यटन प्रबर्द्धनमा देखिएका चुनौतीहरु समाधान गर्न समितिले सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।
समितिका सभापति राजकिशोर यादवले पर्यटन बोर्डले आफ्ना समस्याहरुलाई प्राथमिकिकरण गरेर ल्याउन आग्रह गर्दै खरिद नियमावली, पूर्वाधार विकास तथा सडक र हवाई यातायात सहज बनाउन सरकारको ध्यानाकर्षण गराउने प्रतिबद्धता व्यक्त गरेका छन् ।