काठमाडौं । चालू आर्थिक बर्षमा मुद्रास्फीति घटेको छ । नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको तथ्यांक अनुसार जेठसम्म वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति २.७२ प्रतिशत छ ।
जुन अघिल्लो आर्थिक वर्षकाे साेहि अवधिमा ४.१७ प्रतिशत थियो । राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ०.५४ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.९४ प्रतिशत रहको छ ।
खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत घ्यु तथा तेल उपसमूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक १०.०६ प्रतिशत, गैरमदिराजन्य पेय पदार्थको ५.१३ प्रतिशत, फलफूलको ३.५१ प्रतिशत र दाल तथा गेडागुडीको २.८५ प्रतिशत छ । त्यस्तै तरकारीको ७.०४, मरमसलाको ३.०६ र माछा तथा मासुको मूल्य सूचकांक २.९१ प्रतिशत रहेको छ ।
गैरखाद्य तथा सेवा समूह अन्तर्गत विविध वस्तु तथा सेवाको ९.४३ प्रतिशत, कपडा तथा जुत्ताचप्पल ६.८२, शिक्षा ५.८८, फर्निसिङ तथा घरायसी उपकरण ५.०६ र सुर्तीजन्य पदार्थको ४.६८ प्रतिशत बढेको छ । ग्रामीण क्षेत्रमा २.९० र सहरी क्षेत्रमा २.६६ प्रतिशत छन्।
प्रदेशगत रूपमा कोशी प्रदेशको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.१८ प्रतिशत, मधेस प्रदेश २.५२, बागमती २.२९, गण्डकी १.७५, लुम्बिनी २.३९, कर्णाली २.५४ र सुदूरपश्चिमको ३.८६ प्रतिशत रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
त्यस्तै समिक्षा अवधिमा काठमाडौं उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति २.७२ प्रतिशत, तराईकाे २.५८, पहाड २.४८ र हिमालकाे ४.१८ प्रतिशत छ ।




















