टेलिकमको तिहार अफरः रिचार्जमा बोनसदेखि फोरजी प्रयोगकर्तालाई विशेष छुट

काठमाडौं, ८ कात्तिक । नेपाल टेलिकमले नेपालीहरुको महान चाड तिहारका साथै छठ र नेपाल संवतको अवसरमा ग्राहकहरुको निमित्त विशेष अफर सार्वजनिक गरेको छ । टेलिकमले चाडपर्व अफर सार्वजनिक गर्दै रिचार्जमा बोनसदेखि फोरजी प्रयोगकर्तालाई विशेष छुट दिने जनाएको छ ।

रिचार्जमा २० प्रतिशतसम्म बोनस

टेलिकमले आफ्ना जीएसएम/सीडीएमएका प्रिपेड र पोष्टपेड मोबाइलमा रिचार्ज गर्दा बोनस उपलब्ध गराउने छ । आगामी कात्तिक १० देखि १६ गतेसम्म रिचार्ज कार्ड वा एमपोस बाट रिचार्ज गर्दा बोनस प्रदान गरिने जनाएको छ ।

वोनस योजनामा रु. ५०।–, १००।– र २००।– को रिचार्ज कार्डबाट रिचार्ज गर्दा १० प्रतिशत र रु. ५००।– र १०००।– को रिचार्ज कार्डबाट रिचार्ज गर्दा २० प्रतिशत बोनस प्राप्त हुनेछ । रु. ५०।–, १००।– र २००।– को बोनस ३ दिन भित्र र रु. ५००।– र १०००।– को बोनस ५ दिन भित्र उपयोग गरिसक्नु पर्नेछ ।

त्यसैगरी एमपोसबाट रु. १०।– देखि ४९९।– सम्मको रिचार्ज गर्दा १० प्रतिशत र रु. ५००।– वा सो भन्दा माथिल्लो दरको रिचार्ज गर्दा २० प्रतिशत बोनस उपलब्ध हुनेछ । सो बोनस क्रमशः ३ दिन र ५ दिनभित्र उपयोग गरिसक्नु पर्नेछ ।

फोरजी बनाउँदा २ सय एमबी डाटा

टेलिकमले टुजी र थ्रीजीका प्रयोगकर्ताका लागि पनि विशेष अफर ल्याएको छ । टुजी र थ्रीजी नेटवर्कमा सिम चलाईरहेका ग्राहकहरुले फोरजी नेटवर्कमा आवद्ध हुँदा २ सय एमबी डाटा निशुल्क पाउने छन् । जसको लागि कुनै शुल्क नलाग्ने बताइएको छ । ग्राहकले *444# डायल गरी फोरजी नेटवर्कमा सित्तैमा आवद्ध हुन सक्नेछन् ।

मिस्ड कल अलर्ट निशुल्क एक्टिभ

टेलिकमले आफ्ना पोष्टपेड र प्रिपेड ग्राहकका लागि मिस्ड कल अलर्ट (एमसीए) सेवा निःशुल्क उपलब्ध गराउने भएको छ । यो सेवा अर्को सूचना जारी नभए सम्म निरन्तर रहने जनाइएको छ ।

आफ्नो मोबाइलमार्फत *1400# डायल गरेर दिइएका विकल्प अनुसार अथवा unsub mca लेखेर 1400 मा एसएमएस पठाई यो सुविधा हटाउन सकिने छ । साथै कम्पनीको एप ‘नेपाल टेलिकम’ बाट पनि यो सेवा प्रयोगमा ल्याउन वा हटाउन सकिन्छ ।

मिस्ड कल अलर्ट (एमसीए) ले नेटवर्क नभएको, मोबाइल बिजी भएको वा मोबाइल फोन स्विच अफ भएको समयमा पनि पछि स्विच अन गर्दा यसरी छुटेका वा मिस्ड भएका कलहरुको अलर्ट दिन्छ ।

त्यस्तै टेलिकमले कम्पनीको इन्टरनेट/इन्ट्रानेट लिज लाइन सेवा लिने नयाँ ग्राहकहरुलाई दर्ता शुल्क रु. ३२०।– आगामी छठसम्म निःशुल्क गरिएको जानकारी दिएको छ ।

टेलिकमको अन्य सेवा तथा प्याकेजहरु लिनको लागि ग्राहकले *1415# मा डायल गर्नु पर्नेछ । कम्पनीको एप ‘नेपाल टेलिकम’ बाट पनि यस सम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिन्छ । त्यसैगरी कम्पनीको वेबसाइट www.ntc.net.np मार्फत यस सम्बन्धी विस्तृत जानकारी लिन सकिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here