`
काठमाडौं, असार ३० । नेपाल बीमा प्राधिकरणले जीवन बीमा कम्पनी र लघुजीवन बीमा कम्पनीहरूलाई आगामी आर्थिक वर्ष २०८२/८३ का लागि व्यावसायिक लक्ष्यमा नवीकरण बीमा शुल्क र म्यादी जीवन बीमा शुल्कलाई पनि अनिर्वाय समावेश गर्न निर्देशन दिएको छ ।
बीमा कम्पनीका कर्मचारी, विभाग, प्रादेशिक कार्यालय र शाखा तथा उपशाखा कार्यालयहरूलाई व्यवसायिक लक्ष्य (आवधिक रूपमा तय गर्ने मासिक, त्रैमासिक, अर्धवार्षिक र वार्षिक लक्ष्य) निर्धारण गर्दा प्रथम बीमाशुल्कका अतिरिक्त नवीकरण र म्यादी जीवन बीमाका शुल्कलाई समेत अनिवार्य समावेश गर्न निर्देशन दिएको हो ।
प्राधिकरणले सबै जीवन बीमा कम्पनी र लघुजीवन बीमा कम्पनीहरूलाई जारी गरेको परिपत्रमा ‘आगामी आर्थिक वर्षका लागि आफ्ना मातहतका कर्मचारी, उपशाखा/शाखा/प्रादेशिक कार्यालय र विभागहरूलाई व्यवसायिक लक्ष्य निर्धारण गर्दा प्रथम बीमाशुल्कका अतिरिक्त नवीकरण बीमाशुल्क तथा म्यादी जीवन बीमाशुल्कलाई समेत अनिवार्य समावेश गर्ने गरी निर्धारण गर्न’ निर्देशन दिएको उल्लेख छ ।
सम्बन्धित समाचारः
अब स्वास्थ्य बीमामार्फत बिरामीले २ लाख सुविधा पाउने
बीमकहरूले मातहतका कर्मचारी र विभाग तथा कार्यालयहरूलाई व्यवसायिक लक्ष्य निर्धारण गर्दा सावधिक र एकल बीमाशुल्क भुक्तानी हुने बीमालेखहरूलाई मात्र प्राथमिकता दिने गरेका गुनासाहरू आउने गरेको प्राधिकरणका कार्यकारी निर्देशक एवम् प्रवक्ता शुशील देव सुवेदीले सोमबार जारी गरेको विज्ञप्तिमा बताएका छन् ।
बीमकहरू ठूलो रकमको बीमाशुल्क सङ्कलनमा केन्द्रित हुँदा बीमाको पहुँच न्यून आय भएका बर्गसम्म पुग्न नसकेको, बीमा अवधि नपुग्दै बीमालेख व्यतित तथा समर्पण हुने लगायतका समस्या देखापरेको र त्यसबाट गुणस्तरीय एवम् भरपर्दो बीमा सेवा प्रवाहमा चुनौति थपिएको सन्दर्भमा त्यस्तो निर्देशन दिएको पनि प्राधिकरणले बताएको छ ।
सम्बन्धित समाचारः
नीति तथा कार्यक्रममा स्वास्थ्यः बीमाको आर्थिक संकटसँग जुध्नेदेखि प्रदेशसम्म विशिष्ट उपचार विस्तारको कार्यक्रम
संघीय अस्पताल विकास समितिको आम्दानीको १% बीमा कोषमा जम्मा हुने




















