मधेशमा पनि वर्षाको सम्भावना, खडेरीबाट मिल्ने भयाे राहत

काठमाडौं । मनसुनको न्यून चापीय रेखा पूर्वी नेपालको नजिक सरेकाेले यसकाे प्रभावले कोशीदेखि लुम्बिनी प्रदेशसम्मका जिल्लाहरुमा पानी पर्ने पूर्वानुमान छ । आज सुक्खा खडेरीको मारमा परेको मधेश प्रदेशमा समेत हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज राति मधेश प्रदेशका पूर्वी भूभागमा र भोलि राति मधेश प्रदेशभर हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना छ ।

मनसुनमा मधेश प्रदेशका जिल्लामा लामो समयदेखि पानी नपर्दा सरकारले सुक्खाग्रस्त क्षेत्र घोषणा गरेको छ । आज र भोलिको वर्षाले खडेरीमा हल्का राहत मिल्ने देखिएकाे छ।

आज र भोलि कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका जिल्लाहरुमा पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । बाढी पूर्वानुमान महाशाखाले काठमाडौं उपत्यकासहित ३६ जिल्लामा बाढीको मध्यम जोखिम रहेको सूचना जारी गरेको छ ।

महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश भई बग्ने साना नदीहरुमा बहाव आकस्मिक रुपमा बढ्न सक्ने छ ।

महाशाखाले ताप्लेजुङ, सोलुखुम्बु, संखुवासभा, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काठमाडौं, ललितपुर, भक्तपुर र आसपासकका जिल्ला भई बग्ने साना नदीहरुको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढी आउन सक्ने चेतावनी जारी गरेको छ । यसैगरी इलाम, झापा, पाँचथर, तेह्रथुम, भोजपुर, ओखलढुंगा, खोटाङ, सिन्धुली, मकवानपुर, तनहुँ, कास्की, स्याङ्जा, पर्वत जिल्लामा पनि बाढीको मध्यम जोखिम छ ।

बाढीको मध्यम जोखिम रहेका अन्य जिल्लाहरुमा लमजुङ, दाङ, बर्दिया, सल्यान, सुर्खेत, दैलेख, अछाम, बझाङ, जाजरकोट, कालिकोट, बाजुरा, कैलाली, कञ्चनपुर, दार्चुला समेत छन् । विभागले सूचना जारी गरी बाढीको जोखिम रहेका क्षेत्रहरुमा सतर्कता अपनाउन भनेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here