प्रचण्डले भने ‘जनताका माग र मुद्दा स्थापित गर्न सडक संघर्षमा जानु पर्छ,तयारी गर्नुहोला’

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताका माग र मुद्दा स्थापित गर्न आवश्यक परे सडक संघर्षमा जान पनि तयार हुनुपर्ने बताएका छन् ।

शुक्रबार पेरिसडाँडामा नेपाल मतदाता अधिकार मञ्चबाट निर्वाचनसम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयकमा सुझावसहित ध्यानाकर्षण पत्र बुझ्दै उनले यस्ताे बताएका हुन् । प्रचण्डले यस्ता माग र सुझावहरू नेताहरुलाई बुझाएर मात्र परिवर्तन सम्भव नहुने समेत बताए ।

उनले भने ‘जनताका माग र मुद्दा स्थापित गर्न हामी सडक संघर्षमा जान पनि तयार छौं। तपाईंहरू पनि त्यसको लागि तयारी अवस्थामा रहनुहोला । त्यसको तयारी गर्नुहोला ।’

प्रचण्डले वर्तमान निर्वाचन प्रणालीमा आवश्यक परिवर्तनका लागि माओवादी केन्द्रले निरन्तर आवाज उठाउँदै बताए । उनले खर्चिलो निर्वाचन प्रणाली र सांसद भएपछि मात्रै मन्त्री वा प्रधानमन्त्री बन्नुपर्ने व्यवस्थाका कारण भ्रष्टाचार बढेको बताए ।

‘मुहानबाट धमिलो पानी आइराखेको छ, तर हामीले धाराबाट सफा पानी खोज्न मिल्दैन,’ उनले भने । साथै ‘प्रत्यक्ष कार्यकारी रहने गरी निर्वाचन प्रणाली आवश्यक भएको बताए । जनसंख्याका आधारमा पूर्ण समावेशी र समानुपातिक प्रतिनिधित्व हुनुपर्ने प्रचण्डले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here