काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी राजनीतिमा फर्कनु गम्भीर विषय भएको बताएका छन् ।
केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको पोलिटब्युरो बैठकमा उनले यस्ताे बताएका हुन् । ओलीले यो विषयमा उचित निष्कर्ष पार्टीले निकाल्ने जानकारी दिएका हुन् ।
‘राष्ट्रपति जस्तो गरिमामय पदमा पुगिसकेको व्यक्ति, परमाधिपति भइसकेको व्यक्ति, यो देशको सर्वोच्च पदमा पुगिसकेको व्यक्ति, गणतन्त्रको गौरवको रुपमा रहेको व्यक्ति, राष्ट्रिय एकताको प्रतीक बनिसकेको व्यक्ति आएर राजनीतिमा प्रवेश गर्ने कुरा एउटा गम्भीर विषय हो’ बैठकमा ओलीले भनेका छन्, ‘यसमा पार्टीले उचित समयमा निष्कर्ष निकाल्छ, निर्णय लिन्छ ।’

























