काठमाडौं । असार २४ गते बिहान रसुवामा भोटेकोशी नदीको बाढीले क्षति पुर्याएको भौतिक संरचनाहरुको पुनर्निर्माणमा चीनले सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (सिड्का) का अध्यक्ष चेन सियाओदोङ्ग बिच आज भएको भेटवार्तामा चिनियाँ टोलीले सहयोगको प्रतिबद्धता जनाएको हाे ।
अर्थमन्त्रीको सचिवालयमा अनुसार भेटवार्तामा सिड्काका अध्यक्ष सियाओदोङ्गले भौतिक संरचनाहरुको पुनर्निर्माणलाई आवश्यक सहयोग गर्ने र भन्सार प्रकृया छिटो सञ्चालन हुने गरी काम गर्ने जानकारी दिएका छन् । तिब्बत क्षेत्रबाट बगेर आउने लेन्दे र केरुङ खोलाको बाढी भोटेकोशी नदीमा मिसिएर ६ चिनियाँ नागरिकसहित १७ जना बेपत्ता छन् । यता ११ शव तथा मानवअंग फेला परेका छन् ।
सिड्काका अध्यक्ष सियाओदोङ्गले बाढीपछि नेपाल सरकारले उद्धार र बेपत्ता भएकाहरुको खोजीमा देखाएको सकृयता र सहयोगप्रति धन्यवाद व्यक्त गरेका थिए ।
अर्थमन्त्री पौडेलले विपद् लगत्तैको पुनर्निर्माण नेपालको उच्च प्राथमिकतामा रहेको उल्लेख गर्दै भौतिक संरचनाहरुको पुनर्निर्माणप्रति देखाएको तत्परता, चासो र प्रतिबद्धताका लागि चिनियाँ पक्षलाई धन्यवाद व्यक्त गरेका थिए ।
‘आयात–निर्यातका लागि मात्र होइन, राजस्वका हिसाबले पनि रसुवा नाका महत्वपूर्ण उनले भने त्यसैले पुनर्निर्माणलाई छिटो अघि बढाउँछौं ।’
अर्थ मन्त्रालयमा भएको द्विपक्षीय भेटवार्ता पश्चात् ४ वटा परियोजनाका समझदारी पत्रमा हस्ताक्षर गर्ने कार्यक्रम सम्पन्न भएको छ । सो समझदारीअनुसार भरतपुर क्यान्सर अस्पताल, सिभिल अस्पताल र रसुवागढी–केरुङ ट्रान्समिसन लाइनमा चीनले सघाउने बताइएकाे छ।






















