काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले कुलिङ पिरियडबारे संसदीय समितिबाट सर्वसम्मत भएको विषयमा काँग्रेसले कम्परमाइज गर्न नसक्ने बताएका छन् ।
बीपी स्मृति दिवसमा काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
राज्य व्यवस्था समितिबाट सर्वसम्मत रुपमा प्रतिनिधि सभामा पठाइएको संघीय निजामति विधेयकमा कुलिङ पिरियडमा दुई वर्षे प्रावधान राखिएकोमा प्रतिनिधि सभाबाट दुई वर्षे समयावधि हटाएर पारित भएकाे छ ।
समितिबाट पठाएको र संसदबाट पारित भएको व्यवस्था अर्कै परेपछि अहिले संसदीय छानबिन समिति बनाएर अध्ययन भइरहेको छ । राष्ट्रिय सभामा रहेको विधेयकमा अहिले नेकपा एमालेका सांसदहरुले कुलिङ पिरियड हटाउनुपर्ने भन्दै संशोधन प्रस्ताव राखेका छन् भने काँग्रेस लागू गराउने पक्षमा छ।
यसमा काँग्रेसले कम्परमाइज नगर्ने र कुलिङ पिरियड लागू हुनैपर्ने प्रवक्ता महतले बताएका हुन् ।
‘कुलिङ पिरियड समितिबाट सर्वसम्मत रुपमा अघि बढेको हो । यसमा नेपाली काँग्रेसले कम्परमाइज गर्न सक्दैन । कुलिङ पिरियड लागू हुनैपर्छ’, उनले भने ।























