काठमाडौं । थाइल्याण्ड र कम्बोडियाबीच सीमा क्षेत्रमा विवाद बढेको छ । कम्बोडियाका अधिकारीहरुले सुरिन प्रान्तस्थित आवासीय क्षेत्रमा गोली प्रहार गर्दा एकजनाको मृत्यु र कम्तिमा ३ जना घाइते भएका थाई रक्षा मन्त्रालयका प्रवक्ताले जानकारी दिएका छन् ।
त्यसपछि थाई सेनाले कम्बोडियाको भूमिमा हवाई आक्रमण गरेको जनाइएको छ । कम्बोडियाका अधिकारीहरुले चलाएको गोलीले एक नागरिकको मृत्यु र ३ जना घाइते भएपछि हवाई आक्रमण गरिएको थाइल्याण्डको सेनाले जनाएको छ ।
कम्बोडियाको दुईवटा सैन्य अड्डालाई लक्षित गरेर हवाई आक्रमण गरिएको बैंकक पोष्टको अनलाइन संस्करणले जनाएको छ । कम्बोडियाका अधिकारीहरुले पनि थाइल्याण्डले हवाई आक्रमण गरेको पुष्टि गरेका छन् । कम्बोडियाका प्रधानमन्त्री हुन मानेटले थाइल्याण्डको कम्बोडियाली सैनिक अड्डामा आक्रमण गरेको पुष्टि गरेका छन् ।
हाल थाइल्याण्डको सेनाले कम्बोडियाको सीमा क्षेत्र बन्द गर्ने निर्णय गरेको छ । २०२४ मे महिनामा भएको झडपपछि कम्बोडियाले चारवटा विवादित भूमिको निरूपणका लागि हेगस्थित अन्तर्राष्ट्रिय न्यायालयमा जाने प्रस्ताव राखेको थियो । तर थाइल्याण्डले यो मुद्दामा अदालतको क्षेत्राधिकार अस्वीकार गरेको थियो ।






















