काठमाडौं । काठमाडौं महानगरपालिकाभित्रका सार्वजनिक स्थलहरूमा धुम्रपान गरे प्रत्येक पटक पाँच सय जरिवाना तिर्नुपर्ने भएको छ । महानगरपालिकाकाे नगरसभाबाट चालु आर्थिक वर्ष २०८२/८३ का लागि ल्याइएको आर्थिक विधेयकलाई पास गर्दै सो व्यवस्था गरिएको हो ।
सार्वजनिक स्थलमा अत्याधिक धुम्रपान गरेकाे भन्दै जनगुनासा व्यापक आएपछि जरिवाना गर्नेगरी आर्थिक ऐनमा व्यवस्था गरिएको हाे। नगरसभाबाट पास भएको आर्थिक ऐन अनुसार प्रत्येक पटक पाँच सय जरिवाना गर्ने निर्णय भएको हाे। ।
त्यस्तै ताेकिएको स्थानमा बाहेकका स्थलमा सवारीसाधन पार्किङ गरे मोटरसाइकल स्कुटरलाई एक हजार जरिवाना गरिनेछ । सबै किसिमका चारपांग्रे सवारी साधन (कार, जीप, डेलिभरी भ्यान) लाई २५०० जरिवाना गरिने बताइएकाे छ। त्यसैगरी मझौला सवारी साधन मिनीबस, मिनीट्रकलगायतलाई ३ हजार ५ सय जरिवाना गरिने उनले बताए । त्यस्तै, सबै किसिमका ठूला सवारी साधन, बस, ट्रकलाई पाँच हजार जरिवाना गरिनेछ ।
निषेधित स्थानमा विज्ञापन गरेमा १० हजार जरिवाना गरिनेछ । विना अनुमति सार्वजनिक स्थलबाट देखिने गरी होडिङ बोर्डमा विज्ञापन गरेमा १० हजारदेखि एकलाखसम्म जरिवाना हुन सक्नेछ । पर्चा, पम्प्लेट, पोष्टर, स्टिकर सार्वजनिक स्थानमा टाँस गरेमा तथा सार्वजनिक स्थलमा ब्रोसर तथा प्रचार समाग्री वितरण गरी फोहर गर्ने कार्य गरेमा ५ हजारदेखि ५० हजारसम्म जरिबाना तोकिएको छ ।
खम्बा, पर्खालमा गरिएको पेन्टिङ वा लेखन कार्य प्रतिस्थान ५हजारदेखि ५० हजारसम्म जरिवाना तोकिएको छ भने स्विकृत नलिई बेलुन वा यस्तै प्रकारले विज्ञापन गरेमा ५ हजारदेखि ५० हजारसम्म जरिवना तोकिएको छ ।
सार्वजनिक स्थलमा गेट तथा स्वागतद्वार निर्माण गरेमा महानगरले ५ हजारदेखि ५० हजारसम्म जरिवाना गर्नेछ । त्यस्तै सार्वजनिक स्थल वा संरक्षित स्थानमा रहेका रुख, बिरुवामा क्षति पुर्याएमा पाँचसयदेखि पचास हजारसम्म जरिवाना गरिनेछ ।






















