प्रचण्डले भने ‘कुलिङ पिरियडमा अन्तिममा एमालेले म्याउँ गर्यो’

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संघीय निजामती विधेयकमा कुलिङ पिरियडमा अन्तिममा नेकपा एमालेले म्याउँ गरेको आरोप लगाएका छन् ।

काठमाडौंमा शनिबार आयोजित एकीकृत अखिल नेपाल शिक्षक संगठनको एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले कुलिङ पिरियडमा भएको छेडखानीमा एमालेले म्याउँ गरेको बताएका हुन् । साथै यसमा एमाले र यसको नेतृत्व जिम्मेवार रहेको आरोप लगाए ।

‘कुलिङ अफ पिरियड २ वर्ष सर्वसम्मत भएको थियो,उनले भने, ‘तर अहिले त्यो राख्न हुन्न भनेर लास्टमा गएपछि चीज के रहेछ भने बिरालोले अन्तिममा म्याउँ गरि छाड्यो भने जस्तै एमालेले म्याउँ गरि नै हाल्यो।’प्रचण्डले एमालेको नियत नै निजामती विधेयकमा छेडखानी र षड्यन्त्र गर्ने रहेको देखिएको आरोप लगाए ।साथै यसको जिम्मेवारी प्रधानमन्त्री केपी ओलीले लिनु पर्ने उनले बताए ।

‘शंकाको सुई त पहिला पनि प्रधानमन्त्रीतिर सोझिएकै थियो तर ठोस रुपमा भन्ने आधार थिएन। अहिले एमालेका सांसदहरुले गरेको गतिविधिबाट र संशोधनबाट यो एमाले पार्टी र त्यसको नेतृत्वको नियतकै कारणले भएको हो।’

उनले छानबिनको दायरामा प्रधानमन्त्री स्वयंलाई पनि पारिनुपर्ने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here