११ साउन, काठमाडौं । चितवनका केही क्षेत्रमा आजदेखी लोडसेडिङ सुरु भएको छ । नेपाल विद्युत् प्राधिकरण चनौली वितरण केन्द्रले ६ घण्टा लोडसेडिङको तालिका सार्वजनिक गरेको छ । अत्यधिक गर्मी र रोपाईंको समयमा आकाशे पानी नपरेकाले सिँचाइ ग्राहकको लोड बढेकोले लोडसेडिङ् गर्नु परेको बताइएकाे छ। दिनमा दुईपटक गरी ६ घण्टा लोडसेडिङ हुन थालेको हो ।
वितरण केन्द्र चनौली अन्तर्गत पर्ने नारायणी-माडी, मेघौली-विजयनगर-शुक्रनगर र जगतपुर-रामपुर फिडरहरूबाट आपूर्ति हुने स्थानमा लोडसेडिङ गरेको हो ।
भरतपुर १३२ / ३३ केभी सब स्टेशनबाट आउने ३३ केभी डग कन्डक्टर तारमा ३०० एम्पिएरभन्दा बढी विद्युत् प्रवाह गर्न नमिल्ने ( क्षमताले नधान्ने) अवस्था रहेको छ । तर, अहिले विद्युत् माग बढेर सो तारमा ४५० एम्पिएरसम्म विद्युत् प्रवाह हुँदा लोड धान्न नसकेको वितरण केन्द्रले सूचनामा उल्लेख छ । यस्तो छ लोडसेडिङ तालिका
नारायणी-माडी फिडरहरू : बिहान ६:०० देखि ९:०० र दिउँसो ३:०० देखि ६:०० बजेसम्म ।
मेघौली-विजयनगर–शुक्रनगर फिडरहरू : बिहान ९:०० देखि १२:०० र बेलुका ६:०० देखि ९:०० बजेसम्म ।
जगतपुर-रामपुर फिडरहरू : दिउँसो १२:०० देखि ३:०० र बेलुका ९:०० देखि १२:०० बजेसम्म ।
























