८दिनपछि ओरालो लाग्यो नेप्से, कारोबारमा भने वृद्धि

काठमाडौं । लगातार ८ कारोबार बढेको सेयर बजार आइतबार घटेको छ । अघिल्लो दिनको तुलनामा बजारको परिसूचक नेप्से १८.४४ अंक घटेर २९६४ अंकमा कायम भएको छ ।

आइतबार कारोबार रकम पनि बढेको छ । गत बिहीबार १८ अर्ब ४९ करोडको कारोबार भएकोमा आज २६ अर्ब ५७ करोडको भयो । यो कारोबार रकम गत वर्षको भदौ २ यताकै उच्च हो । सो दिन २८ अर्ब ८३ करोडको कारोबार भएको थियो । गत वर्षको साउन ३० गते हालसम्मकै उच्च २९ अर्ब ९५ करोडको कारोबार भएको थियाे।

आजको कारोबारमा पनि हाइड्रोपावर समूह सबैभन्दा अगाडि छ । सो समूहको मात्रै ११ अर्ब ६२ करोडको कारोबार भयो । कुल कारोबारमा हाइड्रोपावर समूहको हिस्सा ४३ प्रतिशत हो । विकास बैंक, माइक्रोफाइनान्स र उत्पादन समूको कारोबार २–२ अर्बमाथिको भयो ।

आज ६३ कम्पनीको मूल्य बढ्दा १८६ को घटेकाे छ। विकास बैंक १.२३, उत्पादन तथा प्रशोधन १.०८ तथा व्यापार १.४४ प्रतिशत बढे ।

फाइनान्स सबैभन्दा धेरै १.९९ प्रतिशत घट्यो । बैंकिङ ०.७१, होटल तथा पर्यटन १.७९, हाइड्रोपावर १.०९, लगानी १.६६, जीवन बीमा १.३५, निर्जीवन बीमा ०.६७ तथा अन्य ०.८६ प्रतिशत घटेका छन् ।

आज तीन कम्पनीको समता घरेलु लघुवित्त, ट्रेड टावर र सान्भी इनर्जी मूल्य १० प्रतिशत बढ्यो । त्यस्तै लुम्बिनी विकास बैंकको ८.४७, ग्रिन भेन्चर्सको ६.२९, सगरमाथा जलविद्युत कम्पनीको ६ प्रतिशत मूल्य बढ्यो ।

यता नारायणी डेभलपमेन्ट बैंकको ६.३४, राप्ती हाइड्रोको ४.९९, बुटवल पावरको ४.११ प्रतिशत मूल्य घट्यो । आज धेरै कारोबार भएका पाँच कम्पनीमा शिवम् सिमेन्ट, ङादी ग्रुप, नेपाल पुनर्बीमा, कालिका पावर र ग्रिन भेन्चर्स छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here