काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर मध्यमदेखि धेरै भारी वर्षा भएको हो । यो अवधिमा सबैभन्दा धेरै वर्षा अर्घाखाँचीको स्टेशनमा मापन भएको विभागले जनाएको छ । अर्घाखाँचीमा ११४ मिलिमिटरभन्दा धेरै वर्षा भएको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार दाङको एक स्टेशनमा १०२.४, रुपन्देहीमा १०१.८ र नवलपरासीमा १०२ मिलिमिटरभन्दा बढी वर्षा मापन गरिएको छ । २४ घण्टाको अवधिमा १०० देखि २०० मिलिमिटरसम्म वर्षा हुनु धेरै भारी वर्षा हुनु हो ।
त्यस्तै लमजुङ, पाल्पा, गुल्मी, सिन्धुपाल्चोक, कपिलवस्तु, बर्दिया र बाँकेमा पनि ठूलो वर्षा भएको छ । यी क्षेत्रमा ९० मिलिमिटर वर्षा मापन भएको छ । ५० देखि १०० मिलिमिटरसम्म वर्षा हुनुलाई भारी वर्षा भएको मानिन्छ ।
आज बिहान धादिङ, बारा, रौतहट र पाल्पामा पनि अत्यधिक वर्षा भइरहेको छ ।
आज सबै प्रदेशका धेरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
नदीको तटीय क्षेत्रमा बसोवास गर्नेहरूलाई सतर्क रहन आग्रह गरिएको छ ।

























