काठमाडौं । कैलालीको धनगढीस्थित कारागारमा भइरहेको असहज परिस्थितिलाई लिएर गृहमन्त्री रमेश लेखकले सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गरेका छन् ।
शनिबार सिंहदरबारमा सुरक्षा प्रमुखहरूसँग गृहमन्त्री लेखकले छलफल गरेका हुन् । मन्त्री लेखकले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरूलाई बोलाइ छलफल गरेका हुन् ।
छलफलमा उक्त घटनालाई सरकारले गम्भीरताका साथ लिएको र परिस्थिति सहज बनाउन सुक्षम रुपले हेरेको गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेले बताए ।‘कैलालीको कारागारमा कैदीबन्दीबीच झडपपछि उत्पन्न परिस्थितिका विषयमा गृहमन्त्रीज्युको नेतृत्वमा तीन वटै सुरक्षा निकायका प्रमुख, गृह सचिवज्यु सबै बसेर छलफल गरेका छौँ । यस घटनालाई गृह मन्त्रालय र समग्र सुरक्षा निकायले परिस्थिति सहज बनाउन गम्भीरतापूर्वक सुक्ष्म रुपले हेरेको अवस्था छ,’ काफ्ले भने ।
उनका अनुसार गम्भीर घाइते भएका एक बिरामीलाई थप उपचारका लागि काठमाडौं ल्याउने व्यवस्था मिलाइएको र हेलिकप्टर उडिसकेको छ ।
अन्य घाइतको उपचारको उपचार हुँदै छ। कारागारमा कैदीबन्दीबीच झडप भएको थियो । कारागारभित्र ब्लक ‘ए’ मा बस्ने र ब्लक ‘बी’ मा बस्ने कैदीबन्दीबीच झडप भएको हो ।
झडपमा परेर एक जनाको मृत्यु भएको थियो भने ४७ जना घाइते भएका थिए ।

























