काठमाडौं । मङ्गलबारदेखि तराई मधेशका जिल्लाहरूमा मुसलधारे वर्षाको सम्भावना रहेको छ।
मनसुनको न्यून चापीय रेखा केही उत्तरतर्फ सर्ने र जलवाष्पयुक्त हावाको मात्रा बढ्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएकाे छ। मधेश प्रदेशका केही ठाउँमा अतिभारीसहित कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका धेरै ठाउँमा भारी वर्षा हुने बताइएकाे छ।
महाशाखाका अनुसार २४ घण्टामा २०० मिलिमिटर वा त्योभन्दा बढी पानी परेमा अति भारी वर्षा भनिन्छ ।
अति भारी वर्षाले बाढी, पहिरो र डुबानको जोखिम निम्त्याउन सक्ने भन्दै सतर्कता अपनाउन विभागले आव्हान गरेकाे छ।
पछिल्लो २४ घण्टामा मधेशका धेरै जिल्लामा वर्षा भएको छ । धनुषाको तुल्सीमा १३७ मिलिमिटरभन्दा धेरै वर्षा भएको जल तथा मौसम विज्ञान विभागको तथ्याङ्क छ । वर्षासँगै सुख्खाग्रस्त मधेशमा धान रोपाइँमा पनि सुधार भएको छ ।
मङ्गलवारदेखि हुने वर्षाले मधेशको पानी सङ्कट कम गर्ने देखिन्छ।


























